माघ २६ डोटी । बनको जमीनमा बस्दै आएका हलिया मुक्त दलित बस्तिमा सधै निर्बाचनको समयमा आस्वासन मात्रै बाडीने गरेको छ । हलिया मुक्तीको १७ वर्ष बितिसक्दा पनि डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर–१ भेटा स्थित बनको जमीनमा रहेको दलित बस्तीमा निर्बाचनको समयमा सधै नेताहरुले आस्वासन मात्रै बाड्ने गरेका हुन ।
अझै ‘कबुलियती’ वनभित्र अस्थायी आवासमा जीवन बिताइरहेका मुक्त हलिया अझै परिचय पत्र पाउनबाट छुट हुँदा राज्यले प्रदान गर्ने सेवा पाउनबाट बस्ती बञ्चित भएको उनीहरुले बताएका छन । हलिया मुक्तिको घोषणाले उनीहरूको जीवन बद्लिन सकेन, बरु राज्यको बेवास्ता र चुनावी आश्वासनको जालमा बस्तीमा रहेका १४ घर दलित परिवार अल्झिँदै आएका छन् ।
चुनावका बेला मात्रै स्थानीयले समस्या सम्बोधन हुने आश्वासन पाइरहेका छन् । सरकारले हलिया मुक्त घोषणा पछि लगिएको तथ्यांक हराएकाले राज्यबाट मिल्ने सेवा नपाएको स्थानीयले गुनासो गरेका छन ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह वडा भित्र पर्ने उक्त बस्तीमा खानेपानी, स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवाको समेत अभाव रहेको छ । स्थानीयले राज्यको उपस्थितिलाई कागजमै सीमित भएको बताउने गरेका छन् ।
स्थानीय सुगम विकले विकासका पूर्वाधार भन्दा बस्ती धेरै टाढा रहेको बताए । विद्यालय र स्वास्थ्य चौकी एक घण्टाको पैदल दूरीमा रहेको बताउदै उनले खानेपानीको समस्या भएको बताए ।
बिरामी हुँदा स्वास्थ्य चौकी पुग्नै गाह्रो हुने बताउदै उनले हलिया मुक्त भनिए पनि परिचयपत्र समेत नभएको बताए । बस्तिका दलित परिवारले दैनिक ज्याला मजदुरी गरेर परिवार पालिरहेको उनले बताए ।


