माघ २६ कञ्चनपुर । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ मतदान गर्न कञ्चनपुरमा तीन हजार भन्दा बढी अस्थायी मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताको विवरण सङ्कलन गरी शनिबार प्रकाशित गरिएको अन्तिम नामावली अनुसार कञ्चनपुरमा तीन हजार भन्दा बढी अस्थायी मतदाता रहेका हुन ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले कञ्चनपुरमा हालसम्म सङ्कलन गरिएको सङ्ख्या अनुसार तीन हजार ३ सय ९ जना अस्थायी मतदाता रहेको बताए । शनिबार उनीहरूको अन्तिम नामावली प्रकाशित गरिएको उनले जानकारी गराए । जिल्लामा रहेका सबै सरकारी कर्मचारी, संस्थानका कर्मचारी, सुरक्षाकर्मी, कारागारमा रहेका कैदीबन्दीको विवरण सङ्कलन गरी नामावली प्रकाशित गरिने कार्यालय प्रमुख जोशीले बताए ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रकाशित नामावली अनुसार जिल्लास्थित ५० वटा सरकारी कार्यालयका ७ सय ४५ जना कर्मचारी, संस्थान र बैङ्क गरी सात वटा कार्यालयबाट १ सय ३२ जना, नौ वटै स्थानीय तहबाट एक हजार १ सय ७७ जना, प्रावि शिक्षक २ सय ८६ जना, ८ सय २६ सुरक्षाकर्मी, १ सय २२ जना निर्वाचन प्रहरी र २१ जना कारागारका कैदी गरी तीन हजार ३ सय ९ जना अस्थायी मतदाता छन् ।
यसअघि निर्वाचन कार्यालयले विभिन्न निकायसँग अस्थायी मतदाताको सङ्ख्या र नामावली माग गरेको थियो । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले अस्थायी मतदाताका लागि कति वटा र कुन कुन ठाउँमा अस्थायी मतदान केन्द्र राख्ने बारेमा पनि छलफल भइरहेको बताए ।
यद्यपि कारागारका २१ जना कैदी मतदाताको हकमा कारागारमा र निर्वाचनमा खटिएका सुरक्षाकर्मीले सोही मतदान केन्द्रमा मत खसाल्ने व्यवस्था मिलाइने सूचना अधिकारी महराले बताए । सूचना अधिकारी महराले आगामी निर्वाचनका लागि जिल्लामा एक जना तेस्रो लिङ्गी सहित एक लाख ६० हजार ३ सय १६ जना महिला र एक लाख ५४ हजार ६८ जना पुरुष गरी तीन लाख १४ हजार ३ सय ८५ जना मतदाता पुगेको बताए ।
कञ्चनपुरका तीन वटा निर्वाचन क्षेत्रमा १ सय ३२ वटा मतदान स्थल र ३ सय ६० मतदान केन्द्र तोकिएको उनले बताए । जिल्ला सुरक्षा समिति कञ्चनपुरका अनुसार जिल्लाका नौ वटा पालिकामा कायम गरिएका १ सय ३२ वटा मतदान स्थल मध्ये ६६ वटा अति संवेदनशील, ४० वटा मतदान स्थललाई संवेदनशील र २६ वटा मतदान स्थललाई सामान्य तोकेर सोही बमोजिमको सुरक्षा प्रबन्ध मिलाइँएको छ ।
त्यसैगरी ३ सय ६० वटा मतदान केन्द्र मध्ये १ सय ९२ वटा अति संवेदनशील, १ सय १९ वटा संवेदनशील र ४९ वटा सामान्य मतदान केन्द्र रहेका छन् ।


