माघ २५ बाजुरा । बाजुरामा नेकपा एमालेका उम्मेदवार लालबहादुर थापालाई मातृ शोक परेको छ । देशभर विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलो पुगेर आफूलाई र आफ्नो पार्टीलाई मत मागिरहेको अबश्थामा थापालाई मातृ शोक परेको हो । एमाले केन्द्रीय कमिटी सदस्य समेत रहेका थापाकी आमा कलशी थापाको ८९ वर्षको उमेरमा निधन भएको हो ।
बुढीगंगा नगरपालिका वडा नम्बर–२ ताप्रास्थित आफ्नै निवासमा उनको निधन भएको हो । उम्मेदवार सहित जगन्नाथ गाउँपालिकामा घरदैलोमा भएको अबश्थामा घरमा आमाको स्वास्थ्य अवस्था जटिल भएको थाहा पाए पछि सबै कार्यक्रम छाडेर आमालाई भेट्न थापा घर पुगेका थिए ।
घरदैलोमा सँगै रहेका प्रेस चौतारीका केन्द्रीय सदस्य कृष्ण ओलीले आमाले संसार छोड्ेकाले उम्मेदवार थापा अहिले घरमा किरियामा भएको बताए । उनलाई भेट्न आउनेहरूले सान्त्वना दिने गरेको बताउदै उनले निर्वाचनको लागि मत माग्न व्यस्त हुनु पर्ने अवस्थामा बरखीमै रहेका थापाले घरमै आएकाहरूलाई आफ्ना योजनाहरू सुनाउँने गरेको बताए ।
२०५४ सालमा जिल्ला विकास समितिको सभापति र २०७४ सालमा प्रतिनिधि सभा सदस्य हुँदा उनले लोकप्रिय काम गरेको उनले बताए । थापा घरदैलोमा जान नपाउँदा पनि केन्द्रीय सदस्यहरू, जिल्ला अध्यक्ष सहितको टोलीले घरदैलो अभियानलाई निरन्तरता दिएको उनले बताए । जगन्नाथबाट हिमाली गाउँपालिका लगायत धुलाचौरमा अगुवा नेता कार्यकर्तासँगै भेटघाट गरिएको उनले बताए ।


