माघ २३ कञ्चनपुर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कञ्चनपुरका १६ जना उम्मेदवारले मात्रै बैङ्क खाता सञ्चालनका लागी सिफारिस लिएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका अनुसार बिहीबार सम्म १६ जनाले मात्रै बैङ्क खाता सञ्चालनका लागि सिफारिस लिएका हुन । आगामी फागुन २१ हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावमा सहभागी उम्मेदवारले छुट्टै बैङ्क खाता खोल्नुपर्ने व्यवस्था अनुसार उनिहरुले सिफारिस लिएका हुन ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी ५५ जना उम्मेदवार मध्ये बिहीबार सम्म १६ जनाले मात्र निर्वाचन खर्चका लागि बैङ्कमा खाता खोल्न सिफारिस लिएको निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले जानकारी गराए । निर्वाचन आचारसंहिता २०८२ को दफा १६ मा निर्वाचन कार्यलाई व्यवस्थित र मर्यादित बनाउन उम्मेदवारले निर्वाचन सम्बन्धी गर्ने सम्पूर्ण खर्च विवरण अनिवार्य रूपमा नयाँ बैङ्क खाता खोल्नु पर्ने व्यवस्था गरिएको उनले जानकारी गराए ।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारले छुट्टै बैङ्क खाता खोल्न आग्रह गरिएको निर्वाचन कार्यालयका प्रमुख हरिशचन्द्र जोशीले बताए । जिल्लामा ४४ दल र ११ स्वतन्त्र सहित ५५ जना उम्मेदवार रहेका छन् । हालसम्म ३९ जना उम्मेदवारले अझै बैङ्क खाता खोल्न सिफारिस नलिएको निर्वाचन कार्यालयका प्रमुख जोशीले बताए । कञ्चनपुर क्षेत्र नम्बर–१ का स्वतन्त्र उम्मेदवार अनिल राना, स्वतन्त्र उम्मेदवार यादव सिंह, राप्रपाका दिल्लीबहादुर शाही, प्रगतिशील लोकतान्त्रिक पार्टीका देपेन्द्रबहादुर शाही, रास्वपाका जनकबहादुर सिंह, उज्यालो नेपाल पार्टीका माइकल तामाङले बैङ्क खाता खोल्न सिफारिस लिएको उनले बताए ।
त्यसैगरी समानुपातिक तर्फ क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका तारा गिरीले पनि नयाँ खाता सञ्चालन गरेको उनले बताए । क्षेत्र नम्बर २ बाट एमालेका बचनबहादुर सिंह, राष्ट्रिय स्वतन्त्र पार्टीका दीपकराज बोहोरा र राष्ट्रिय प्रजातन्त्र पार्टीका तीर्थराज चटौतले नयाँ खाता सञ्चालन गरेका छन् । त्यसैगरी क्षेत्र नम्बर ३ बाट एमालेका डा. दीपकप्रकाश भट्ट, नेकपा संयुक्तका कर्णबहादुर चन्द, श्रम संस्कृति पार्टीका गङ्गादत्त जोशी, रास्वपाका ज्ञानेन्द्र महता, स्वतन्त्र उम्मेदवार वीरसिंह क्षेत्री र थानेश्वर लेखकले खाता सञ्चालन गरेका छन् ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा १६ मा उम्मेदवारले अनिवार्य रूपमा नयाँ बैङ्क खाता खोल्नुपर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृत मोहनचन्द्र जोशीले बताए । उम्मेदवारलाई प्रचार प्रसार अवधि सुरु हुनु अगावै खाता खोलिसक्न पत्राचार गरिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत जोशीले बताए । खाता नखोल्ने तथा आचारसंहिता अटेर गर्ने उम्मेदवारले पत्राचार पछि पनि अटेर गरेमा ती उम्मेदवारलाई कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरिने उनले बताए ।
फागुन ४ गते पहिला नयाँ खाता खोली निर्वाचनमा गरिने सम्पूर्ण खर्चलाई पारदर्शी तुल्याउन निर्वाचन कार्यालयले सबै उम्मेदवारलाई अनिवार्य खाता खोल्न आग्रह गरेको छ । खाता नखोल्ने उम्मेदवारको उम्मेदवारी रद्दसम्म हुन सक्ने जनाइएको छ । खाता सञ्चालन गरेको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयमा दिनुपर्ने निर्वाचन कार्यालयले जनाएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका प्रमुख धामीले उम्मेदवारले खोलेका खाताको तथ्याङ्क राख्ने कार्य भइरहेको बताए ।
उम्मेदवारले निर्वाचनमा गर्ने सम्पूर्ण खर्च खाता मार्फत गर्न उनले आग्रह समेत गरेका छन । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरजिल्लामा तीन लाख १४ हजार ३ सय ८५ मतदाता रहेका छन । कञ्चनपुरमा १ सय ३२ वटा मतदान स्थल र ३ सय ६० वटा मतदान केन्द्र रहेका छन् ।
त्यसैगरी जिल्ला निर्वाचन कार्यालय दार्चुलाले पनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारलाई आफ्नो छुट्टै बैङ्क खाता खोल्न अनुरोध गरेको छ । राजनीतिक दल र उम्मेदवारले गर्ने खर्चको पारदर्शिताका लागि छुट्टै बैङ्क खाता खोल्न अनुरोध गर्दै सूचना जारी गरिएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख एवं निर्वाचन अधिकृत प्रदीपसिंह धामीले जानकारी गराए । कार्यालयले प्रतिनिधि सभा निर्वाचनमा राजनीतिक दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचार प्रसारका लागि प्राप्त हुने स्वेच्छिक आर्थिक सहयोगको रकम र त्यस्तो प्रचार प्रसारका लागि उम्मेदवारले गर्ने खर्चलाई पारदर्शी बनाउन छुट्टै बैङ्क खाता खोल्न अनुरोध गरिएको उनले बताए ।
निर्वाचन आयोगले माघ २० गते स्वीकृत गरेर लागु गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन प्रचार प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२ अनुसार उम्मेदवारलाई छुट्टै बैङ्क खाता खोल्न आग्रह गरिएको उनले बताए । उम्मेदवारले निर्वाचन प्रचार प्रसार गर्न सम्बन्धित बैङ्क खाता मार्फत गर्न कार्यविधिमा व्यावस्था गरिएको छ । निर्वाचन कार्यालयले नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त बैङ्क तथा वित्तीय संस्थामा राजनीतिक दल र उम्मेदवारले छुट्टाछुट्टै निर्वाचन अभियान बैङ्क खाता खोली सोही खाता मार्फत रकम प्राप्त र खर्च गर्नुपर्ने व्यवस्था लागु गर्न समेत जानकारी गराएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ११ वटा राजनीतिक दलका ११ जना उम्मेदवारले दार्चुलामा मनोनयन दर्ता गरेर चुनावी प्रचार प्रसार गरिरहेका छन् । निर्वाचनका लागि दार्चुलामा ८ सय ७० जना कर्मचारी परिचालन हुने बताइएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार १ सय ४५ वटा मतदान केन्द्रमा कर्मचारी खटिने छन् । अबको केही दिन भित्रै निर्वाचनमा खटिने कर्मचारीको खटन पटनको काम अघि बढ्ने सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी गराए ।
एक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगीलाई खटाउने गरी तयारी भइरहेको उनले बताए । पाँच सय भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा आठ जना र सोभन्दा कम मतदाता भएका केन्द्रमा सात जना कर्मचारी खटाउने गरी तयारी भइरहेको उनले बताए । एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९२ हजार ९ सय ४८ जना मतदाता रहेका छन् । दार्चुलामा ४७ हजार ७ सय ५५ जना पुरुष र ४५ हजार १ सय ९३ जना महिला मतदाता रहेका छन् ।


