माघ ०४ धनगढी । कैलालीको गोदावरी धाम्मा वृहत् गोदावरी धाम विकास समिति बनाउनु पर्ने सुझाव आउन थालेको छ । धार्मिक पर्यटकीय क्षेत्रका रूपमा रहेको गोदावरी धाममा आफूखुसी मन्दिर निर्माण, मन्दिर पिच्छे समिति र समिति पिच्छे आ–आफ्ना कार्यक्रम सञ्चालन भईरहेकाले वृहत् गोदावरी धाम विकास समिति बनाउनु पर्ने सुझाव आउन थालेको हो ।
गोदावरी धाममा रहेको महन्त तुल्छी गिरीजी महाराजले धार्मिक पर्यटकीय क्षेत्रका दृष्टिकोणले सुदूरपश्चिमकै मुख्य गन्तव्यका रूपमा रहेको गोदावरी धामलाई वृहत् गोदावरी धाम विकास समिति बनाउनु पर्ने सुझाव दिएका हुन ।
प्रदेशकै धेरै दर्शनार्थी पुग्ने धार्मिक स्थलका रूपमा विकास हुदै गएको गोदावरी धाम्मा च्याउ उम्रीएझैँ विभिन्न समितिहरू उम्रिन थालेको बताउदै उनले गोदावरी धाम बेलगाम जस्तै बन्न पुगेकाले वृहत् गोदावरी धाम विकास समिति बनाउनु पर्ने सुझाव दिएका हुन ।
विभिन्न समितिहरूले गोदावरी धाममा छुट्टाछुट्टै कार्यक्रमहरू गर्दा गोदावरीको गरिमा र विकासमा नकारात्मक असर पर्ने गरेको उनले बताए । विभिन्न संरचनाहरू निर्माणका लागि बजेट आउने गरेको भए पनि समितिहरूले छुट्टाछुट्टै रूपमा माग गर्दा भने जस्तो काम पनि नभएको उनले बताए ।
करिब ६० वर्ष अघि देखि गठन भएको समितिसँग कुनै समन्वय नगरी गोदावरी धाममा वारी र पारीको द्वन्द्व चली रहेको उनले बताए । गोदावरी धामका लागि विभिन्न क्षेत्रबाट बजेट आइरहेको बताउदै उनले बाहिरका नचिनेका मान्छे आएर,गुरुयोजना बनाएर अन्धाधुन्ध पैसा खर्च गरी रहेको बताए ।
वारिपारि भनेर द्वन्द्व चलाएका कारण गोदावरी धामको विकास हुन नसकेको बताउदै उनले आफू सन्न्यासी भए पनि गोदावरीकोे अवस्था देखेर बोल्न बाध्य भएको बताए । म सन्न्यासी हु, मैले बोल्न मिल्दैन’ तर यो ठाउँको अवस्थाका कारण बोल्न बाध्य भएको छु उनले भने ।
आफूले गोदावरीको विकासका बारेमा बोल्दा पागलको संज्ञा दिने गरेको बताउदै उनले गोदावरीमा वृहत् गोदावरी धाम विकास समिति बन्नसके गोदावरीे क्षेत्रको मुहार फेरिने बताए । त्यसैगरी गोदावरी नगरपालिकाले पटक पटक समग्र गोदावरीको विकासका लागि समिति बनाउने बताउँदै आए पनि अझै कार्यान्वयनमा ल्याउन सकेको छैन ।
नगरपालिकाले समिति निर्माणका लागि कार्यविधि बनाएर नगर बोर्डबाट पास गरेको भए पनि कार्यान्वयनमा आउन सकेको छैन । त्यसैगरी गोदावरीको समग्र विकासका लागि ५४ करोड लागतको डिपिआर समेत निर्माण गरेर हाल नगरपालिकामा थन्किएको छ ।
गोदावरी धाम विकास समितिले पुस ३० गते उद्घाटन गरेको बाह्र राशि दर्शन मकर मेलामा बोल्दै नगरप्रमुख वीरेन्द्र भट्टले समग्र गोदावरीको विकासका लागि सबै समितिलाई समेटेर गोदावरी धाम विकास समिति बनाउने आफ्नो पुरानै कुरा दोह¥याएका थिए ।
२०७२ सालमा गोदावरीमा महाकुम्भ मेलाको आयोजना गरे देखि गोदावरीमा माघे सङ्क्रान्तिमा दर्शनार्थीको चाप बढ्दै गएको छ । गोदावरी धाम विकास समितिले पहिलो पटक गोदावरीमा महाकुम्भ मेला लगाउँदा गोदावरी क्षेत्रको व्यापक प्रचार प्रसार गरेको थियो । त्यसपछि प्रत्येक वर्ष माघ १ गते लाग्ने मेलामा पनि भक्तालु दर्शनार्थीहरुको संख्या बढ्दै गएको छ ।
गोदावरी धाम विकास समितिले गोदावरी धाम वारी बाह्र राशि दर्शन मकर मेला आयोजना गर्दा पारि पञ्च दशनाम जुना अखडा शिव भगवती मन्दिर गोदावरी तिर्थ धामले छुट्टै कार्यक्रम आयोजना गरेको छ । जसले गर्दा गोदावरी धामको विकासमा अबरोध हुने हुँदा वृहत् गोदावरी धाम विकास समितिको आवश्यकता देखिएको छ ।


