माघ ०२ कञ्चनपुर । कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको जलपन्छी गणना सम्पन्न भएको छ । सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जलपन्छीको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले सञ्चालन गरिएको गणना सम्पन्न भएकोे हो ।
नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन)का वरिष्ठ चराविज्ञ हिरूलाल डगौंराले विगतका वर्षको तुलनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्रको सिकारी ताल तथा निकुञ्ज बाहिरका पुरैनी ताल, नकैया सिमसार लगायत क्षेत्रमा जलपन्छीको सङ्ख्यामा सुधार आएको पाइएको बताए ।
कञ्चनपुरमा गणना कार्य पूरा गरी अहिले सङ्ख्या अद्यावधिक गर्ने, प्रजाति छुट्याउने लगायतका काम भइरहेको उनले बताए । कैलालीका केही क्षेत्रमा गणना बाँकी रहेकाले आगामी माघ ४ गतेभित्र सबै तथ्याङ्क सार्वजनिक गरिने उनले बताए ।
बिसिएनको अगुवाइ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको समन्वयमा जलपन्छी गणना गरिएको उनले बताए । गणनामा वाइनाकुलर, दूरबिन, क्यामेरा र जिपिएस जस्ता उपकरणको प्रयोग गरिएको बताउदै उनले हिँडेर पुग्न नसकिने सिमसार क्षेत्रमा हात्तीको प्रयोग गरिएको जानकारी गराए ।
गणनामा बिसिएन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पन्छीविद् सङ्घ, कनेक्ट परियोजना, जेडएसएल, निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, हिमालय नेचर, नेचर गाइड एसोसिएसन तथा कञ्चनपुर पन्छी संरक्षण समूहका प्रतिनिधिहरूको संलग्नता रहेको उनले बताए ।
निकुञ्ज भित्रका सिकारी ताल, बाबा ताल, तारा ताल, रानी ताल, चौधर नदी, राधापुर सिमसार, झिलमिला र रतनपुर सिमसारमा गणना गरिएको उनले जानकारी गराए । त्यसैगरी निकुञ्ज बाहिरका महाकाली नदी, पुरैनी ताल र बन्दा ताल क्षेत्रमा पनि जलपन्छीको अवस्थाबारे विवरण सङ्कलन गरिएको उनले बताए ।
सिमसार क्षेत्रमा बढ्दो अतिक्रमण, अवैज्ञानिक माछापालन, नदीजन्य पदार्थको दोहन, मानवीय गतिविधि र जलवायु परिवर्तनका कारण जलपन्छीको बासस्थान सङ्कटमा पर्दै गएकोउनले बताए । गणनाका क्रममा पन्छीको सङ्ख्याका साथै बासस्थानमा देखिएका चुनौतीबारे पनि अध्ययन गरिएका उनले जानकारी गराए ।


