माघ ०२ धनगढी । माघीलाई नयाँ वर्षका रूपमा मनाउँदै आएका थारु समुदायले बार्षिक नीति नियम निर्माण गर्न थालेका छन । माघीको अबसरमा थारु समुदायले अघिल्लो वर्षका गतिविधिको समीक्षा गर्दै गाउँको नेतृत्व चयन, नीति–नियम परिमार्जन, वार्षिक योजना निर्माण गर्न थालेका हुन ।
धनगढी उपमहानगरपालीका वडा नम्बर–१६ भादा गाउँका भल्मन्सा सन्तराम चौधरीले माघीका अवसरमा नयाँ भल्मन्सा छनौट गर्ने वा पुरानै भल्मन्सालाई निरन्तरता दिने भन्ने निर्णय गरिने बताए । त्यसैगरी गाउँ सञ्चालन सम्बन्धी नियम बनाउने, संशोधन गर्ने र विकास सम्बन्धी योजना तय गर्ने गरिएको उनले बताए ।
कैलाली, कञ्चनपुर लगायत तराईका विभिन्न जिल्लामा माघीलाई बखेरी, खोज्नी–बोज्नी लगायत फरक–फरक नामले पनि चिनिने गरिएको उनले बताए । थारु समुदायमा परम्परागत रूपमा चल्दै आएको भल्मन्सा प्रणाली अन्तर्गत हरेक वर्ष माघ महिनाको पहिलो साता वा माघ महिनाभर उपयुक्त दिन पारेर माघी देवानी आयोजना गरिने उनले बताए ।
कार्यक्रममा प्रत्येक परिवारबाट कम्तीमा एक जना अनिवार्य रूपमा सहभागी हुने गरेको उनले बताए । प्रत्येक गाउँको आफ्नै नियम अनुसार भल्मन्साको कार्यकाल एकदेखि तीन वर्षसम्म रहने व्यवस्था गर्ने गरिएको उनले बताए । भल्मन्सासँगै चौकीदार, ओर्गान, चिराकी, लिखनदार, देशबन्धा गुरुवा लगायतका सहयोगी पदमा पनि व्यक्तिहरू चयन गरिने भल्मन्सा चौधरीले जानकारी गराए ।
भल्मन्सालाई गाउँलेहरूले पारिश्रमिक स्वरूप वार्षिक रूपमा प्रति घरधुरीका आधारमा बाली उपलब्ध गराउने चलन रहेको उनले बताए । सरकारी तथा गैरसरकारी संस्थाका विकास कार्यक्रम कार्यान्वयनमा समेत सहयोगी बन्दै आएको भल्मन्सा प्रणाली थारु समुदायको परापूर्वकाल देखि चल्दै आएको सामूहिक शासन प्रणाली भएको उनले बताए ।
कैलारी गाउँपालिकाले निर्माण गरेको ‘भल्मन्सा प्रणाली संरक्षण तथा विकास ऐन २०७८’ अनुसार माघी देवानीलाई भल्मन्सा प्रणालीको सर्वोच्च निकायका रूपमा मानिने बताउदै उनले प्रणालीमा संसद्को भूमिका निर्वाह गर्ने बताए । विकास निर्माण, मेलमिलाप तथा न्याय निरूपणमा भूमिका खेल्दै आएको भल्मन्सा प्रणालीको संरक्षण र संस्थागत विकासका लागि स्थानीय तहहरूले कानुनी व्यवस्था समेत गरेका छन् ।
कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिका, बेलौरी नगरपालिका लगायतका स्थानीय तहले ‘थारु भल्मन्सा (बरघर) प्रणाली संरक्षण, प्रवद्र्धन तथा विकास ऐन २०७८’ पारित गरी कार्यान्वयनमा ल्याएका छन् । ती स्थानीय तहहरूले भल्मन्साहरूलाई बजेट निर्माण प्रक्रियामा सहभागी गराउनुका साथै गाउँको सेवा गरेवाफत यातायात, सञ्चार लगायतका सुविधा प्रदान गर्न थालेका छन् ।


