पौष २९ धनगढी । धनगढी उपमहानगरपालिकाले माघ ५ गते देखि सञ्चालन गर्न लागेको सिप तथा रोजगार मेलाको तयारी भई रहेको छ । एक महिना सम्म सञ्चालन हुने मेलाका लागि तयारी भई रहेको हो । रोजगार मेलाका लागी सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहबाट ३ हजार ८ सय २ जनाले आवेदन दिएका छन् ।
हाल आवेदकहरू छनौटका लागि अन्तर्वार्ता प्रक्रिया जारी रहेको उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र महराले जानकारी गराएका छन । यस वर्ष सिप तथा रोजगार मेला अन्तर्गत ७ वटा क्षेत्रका २२ प्रकारका सिपमूलक तालिम सञ्चालन गरिने उनले बताए ।
प्रत्येक तालिममा २५ जनाका दरले प्रशिक्षार्थी छनौट गरिने बताउदै उनले कुल ६ सय जनालाई तालिम प्रदान गर्ने लक्ष्य लिइएको बताए । तालिम विहानी सिफ्टमा बिहान ८ बजेदेखि दैनिक ६ घण्टा सञ्चालन हुने उनले बताए । आवेदक मध्ये सबैभन्दा धेरै सहभागी एड्भान्स ब्युटिसियन तालिमतर्फ आकर्षित देखिएको उनले बताए ।
संयोजक महराले युवायुवतीहरूको सीप विकाससँगै रोजगारीमा सहज पहुँच पु¥याउने उद्देश्यले तालिमका विषय छनौट गरिएको बताए । आवेदन दिनेहरू मध्ये करिब २ हजार २ सय महिला, करिब १५ सय पुरुष तथा बाँकी लैङ्गिक तथा यौनिक अल्पसंख्यक समूहका आवेदक रहेको बताए ।
सबैभन्दा धेरै आवेदन धनगढी उपमहानगरपालिका क्षेत्रबाट परेको जानकारी गराउदै उनले स्थानीय स्तरमै सीप र रोजगारी प्रति बढ्दो चासो देखाएको बताए । तलिमको अवधि ३० दिनको हुने बताउदै उनले त्यसपछि थप १० दिन रोजगारीमा जान इच्छुक सहभागीहरूका लागि रोजगार परामर्श कार्यशाला सञ्चालन गरिने बताए ।
आफ्नै पेशा वा व्यवसाय सुरु गर्न चाहनेहरूका लागि उद्यमशीलता विकास तालिम प्रदान गरिने बताउदै उनले तालिम पश्चात् रोजगारदाता सम्मेलन आयोजना गरिने बताए । सम्मेलन मार्फत रोजगारीको खोजीमा रहेका प्रशिक्षार्थीहरू र दक्ष जनशक्ति आवश्यक परेका विभिन्न संस्था तथा कम्पनीबीच प्रत्यक्ष समन्वय गराइने उनले बताए ।
त्यसैगरी धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकला रानाले सबै पालिकाका आवेदकहरू समेटिने गरी निष्पक्ष छनौट प्रक्रिया अघि बढाइएको बताइन् । गत वर्ष तालिम लिएका सहभागीहरू मध्ये करिब ५० प्रतिशतले रोजगारी प्राप्त गरेको उनले बताईन । त्यो उपलब्धिले यस वर्ष कार्यक्रमलाई अझ प्रभावकारी बनाउने हौसला दिएको उनले बताईन ।
महिला आवेदकको संख्या उल्लेख्य रूपमा बढी रहेकाले कार्यक्रमले महिलाको आर्थिक सशक्तिकरण, आत्मनिर्भरता र जीविकोपार्जनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको उनले बताईन । सिप तथा रोजगार मेला धनगढी उपमहानगरपालिका वडा नम्बर–१ स्थित खुलामञ्चमा सञ्चालन हुने छ ।
हाल मेला स्थलमा टेन्ट व्यवस्थापन, तालिम कक्ष निर्माण, दर्ता कक्ष, सूचना डेस्क, विद्युत् तथा सरसफाइ व्यवस्थापन लगायत भौतिक तथा प्राविधिक तयारीका काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ । मेला सफल रूपमा सम्पन्न गर्न सबै आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताइएको छ


