पौष २७ धनगढी । सुदूरपश्चिम प्रदेशका पर्यटकिय स्थलहरु सम्बुद्धिको आधार बन्दै गएका छन । सुदूरपश्चिम प्रदेशका विभिन्न पर्यटकिय स्थलहरुमा पर्यटकहरुको संख्या बढ्दै गएकाले सम्बृद्धिको आधार बन्दै गएका हुन । कैलालीको लम्की बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ चुरे पहाडको काखमा अवस्थित आमपानी झरनामा पर्यटकको चहलपहल बढेको छ । मोहन्याल गाउँपालिका वडा नम्बर–७ मा पर्ने बर्गदा सामुदायिक वनभित्र रहेको मनमोहक आमपानी झरनामा पर्यटकको चहलपहल बढेको हो ।
केही वर्ष अघिसम्म ओझेलमा परेको उक्त झरना कोरोना महामारीको समयमा मानिसहरूले एकान्त र प्रकृतिसँग नजिक हुने स्थान खोज्न थाले पछि चर्चामा आएको हो । सुदूरपश्चिम प्रदेश सरकारको पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत ४० लाख रुपैयाँको लागतमा उक्त क्षेत्रलाई व्यवस्थित गरेपछि अहिले पर्यटकमा चहलपहल बढेको हो । बर्गदा सामुदायिक वनका कार्यालय सचिव ध्वजबहादुर शाहीले वन संरक्षण भनेको केवल रुख जोगाउनु मात्र नभई हराउँदै गएका प्राकृतिक सम्पदाको पुनर्जीवन पनि भएको बताए । भजनी नगरपालीका वडा नम्बर–२ मा रहेको लोहटीवा ताल बनेको उदाहरण बनेको उनले बताए ।
अतिक्रमणमा परेको उक्त ताल २०६२ सालमा राधाकृष्ण सामुदायिक वन उपभोक्ता समूहको पहलमा पुनःनिर्माण गरिएको हो । सोही क्षेत्रमा थारू सङ्ग्रहालय निर्माणको कामसमेत अघि बढिरहेको छ । अहिले त्यहाँ डुङ्गा सयर, वनभोज तथा प्रकृतिसँग रमाउन दैनिकजसो पर्यटक पुग्ने गरेका छन् । पर्या–पर्यटनको दृष्टिले कैलालीको घोडाघोडी ताल अत्यन्त महत्वपूर्ण मानिन्छ । नेपालकै पहिलो ‘वर्ड सेञ्चुरी’ का रूपमा घोषित यो क्षेत्र जैविक विविधताको दृष्टिले पनि निकै समृद्ध छ ।
दुर्लभ चराचुरुङ्गी, माछा र पुतलीको बासस्थान रहेको घोडाघोडी क्षेत्रले अहिले स्थानीय बासिन्दाको जीवनशैली परिवर्तन गरिदिएको घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले बताए । आन्तरिक तथा बाह्य पर्यटकको संख्या निरन्तर बढ्दै गएको उनले बताएका छन । त्यसैगरी कञ्चनपुरमा रहेको शोभाताल पनि पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको छ ।
विसं २०६१ साल देखि बेलौरी नगरपालिका वडा नम्बर–५ मा रहेको मुक्त कमैया समुदायले संरक्षण गर्दै आएको उक्त ताललाई नगरपालिकाले थप व्यवस्थापन गरेपछि पर्यटकको आगमन बढेको हो । वनभोज खान, डुङ्गा सयर गर्न तथा घुमघामका लागि यहाँ पर्यटक आउने गरेको शोभाताल संरक्षण समितिका सचिव गणेश चौधरीले बताए । कैलाली र कञ्चनपुरमा पर्या–पर्यटनका सम्भावना झन् फराकिला देखिएका छन ।
कैलालीमा कर्णाली चिसापानी, राजकाँडा, केबलकार निर्माणको सम्भावना, ऐतिहासिक टीकापुर पार्क, लम्कीको आमपानी झरना, विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल तथा वर्ड सेञ्चुरी प्रमुख आकर्षणका रूपमा रहेका छन् । भजनीको लोहटीवा ताल, वसन्ता जैविक मार्ग वरपरका वन क्षेत्र, गौरीगङ्गाको जोगनिया ताल र धार्मिक आस्थाको केन्द्र बेहडाबाबा पनि सम्भावनायुक्त गन्तव्य हुन् ।
धनगढी उपमहानगरपालीका क्षेत्रमा जोखर ताल, देवहरिया वनस्पति उद्यान तथा चुरे क्षेत्रका गोदावरी, बूढीतोला र खानीडाँडा पर्यटनको नयाँ केन्द्रका रूपमा विकसित हुँदै गएका छन् । विशेषगरी चुरे गाउँपालिकामा रहेको ऐतिहासिक गर्भा दरबार र त्यहाँ पुग्ने पदमार्गले इतिहास र प्रकृतिलाई एकसाथ जोडेको छ । कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधारा–चाँदनी क्षेत्र, वेदकोट, शोभा, झिलमिला, बन्धा ताल तथा लिङ्गा वन क्षेत्र पर्या–पर्यटनका महत्वपूर्ण गन्तव्यका रूपमा विकसित हुँदै गएका छन् ।
पर्या–पर्यटनको विकाससँगै स्थानीय स्तरमा रोजगारी र आयआर्जनका अवसरहरू पनि बढेका छन् । पर्यटकीय क्षेत्रमा फोटोग्राफी, घोडसवारी, होटेल तथा होमस्टे व्यवसाय फस्टाउँदै गएका छन् । युवाहरू विदेश जानुको सट्टा आफ्नै गाउँमा स्वरोजगार बन्न थालेका छन् । घोडाघोडीमा घोडा चढाएर पर्यटक घुमाउने वसन्तकुमार शाहीले दैनिक करिब १ हजार २ सय रुपैयाँसम्म आम्दानी हुने गरेको बताए । घोडाघोडी क्षेत्रमै करिब २० जना युवायुवती पर्यटकको तस्बिर खिचेर रोजगारीमा जोडिएका छन् ।
त्यसैगरी डोटीको केआइसिंह गाउँपालिकाका दीपक उपाध्यायले फोटो खिचेरै दैनिक दुई हजार देखि दुई हजार पाँच सय रुपैयाँसम्म कमाइ हुने गरेको बताए । घोडाघोडी आसपास करिब ३० वटा खाजा–नास्ता होटेल सञ्चालनमा रहेका छन् । चाडपर्व, माघी, नयाँ वर्ष र सार्वजनिक बिदाका बेला पर्यटकको चाप बढ्ने भएकाले आम्दानी पनि उल्लेख्य रूपमा बढ्ने गरेको होटेल व्यवसायी अनिता क्षेत्रीले बताईन । दिनमा दुई हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताईन । पर्यटकहरू घोडाघोडी नजिकैको माघी होमस्टेसम्म पुग्ने भएकाले होमस्टे मार्फत पनि स्थानीयले आम्दानी गरिरहेका छन् ।
माघी होमस्टेका अध्यक्ष सीताराम चौधरीले पर्या–पर्यटनले थारू समुदायको संस्कृति र जीवनशैली चिनाउने अवसर दिएको बताए । त्यसैगरी कञ्चनपुरको शोभाताल व्यवस्थापन गर्दा मुक्त कमैया समुदाय सहित स्थानीयले रोजगारी पाएको बेलौरी नगरपालीका वडा नम्बर–५ का वडा सदस्य कृपा चौधरीले बताए । पर्या–पर्यटनको विकाससँगै चुनौतीहरू पनि देखा परेको छन् । जहाँ आम्दानी बढ्छ, त्यहाँ क्षेत्राधिकार र राजस्वको विवाद उत्पन्न हुने गरेको देखिन्छ । घोडाघोडी ताल क्षेत्रमा हाल सामुदायिक वन उपभोक्ता समूह र नगरपालिकाबीच राजस्व संकलनको विषयमा विवाद चर्किएको छ ।
घोडाघोडी नगरपालिकाले ताल क्षेत्रमा शुल्क संकलनका लागि ठेक्का आह्वान गरेपछि सामुदायिक वन र स्थानीय सरोकारवालाले असन्तुष्टि जनाएका छन । सामुदायिक वनका अध्यक्ष दीपकबहादुर शाहले संरक्षणमा लामो समय देखि योगदान दिँदै आएको समूहसँग समन्वय नगरी ठेक्का दिइएको आरोप लगाएका छन । ठेक्का कार्यान्वयनमा ढिलाइ भएपछि विवाद थप चर्किएको थियो । हाल नगरपालिकाले सुरक्षा निकायको सहयोगमा ठेक्का कार्यान्वयनमा ल्याएको छ ।
नगर प्रमुख खड्क रावतका अनुसार नगरपालिकाले सामुदायिक वनसँग सहकार्य गर्दै व्यवस्थापन अघि बढाउने सहमति भएको छ । यसको विपरीत कञ्चनपुरको शोभातालमा भने साझेदारीको अभ्यास गरिएको छ । बेलौरी नगरपालिकाले ४० प्रतिशत र संरक्षण समितिले ६० प्रतिशत लाभ बाँडफाँट गर्ने निर्णय गरेको उपप्रमुख जोगराम चौधरीले बताए । संरक्षण समितिका सचिव गणेश चौधरीका अनुसार मुक्त कमैयाले संरक्षण गरेकाले आम्दानीको एक हिस्सा नगरपालिकालाई दिने विषयमा छलफल भइरहेको छ ।
आमपानी झरना जस्ता क्षेत्रमा संरचना निर्माण भए पनि फोहरमैला, तोडफोड र सुरक्षाको समस्या देखिन थालेको छ । झरनाको डिल भत्काइएको, मदिराका बोतल जताततै फ्याँकिएको दृश्यले संरक्षणमा थप चुनौती थपिएको छ । सुदूरपश्चिममा पर्या–पर्यटन विकासका लागि प्रदेश सरकार, स्थानीय तह र सम्बन्धित निकाय सक्रिय देखिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत चौमालामा नक्षत्र बाटिका, थारू मरुवा, पुल निर्माण, आमपानी झरना व्यवस्थापन लगायतका योजना सम्पन्न भएका छन् ।
आगामी दिनमा चिसापानी पुल नजिक पार्क, बाँकावीर पार्क, अत्तरियाको लामीतालमा पदमार्ग तथा कञ्चनपुरको भम्केनी धाममा नेपाल आमाको मूर्ति निर्माण लगायत योजना अघि बढाइने प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन एकाइ प्रमुख डबलबहादुर बोहराले बताए । वन तथा भू–संरक्षण विभागका पूर्व महानिर्देशक देवेशमणि त्रिपाठीका अनुसार कैलाली र कञ्चनपुरमा पर्या–पर्यटन अझै प्रारम्भिक चरणमै छ ।
पर्यटन विकासका नाममा अत्यधिक भौतिक संरचना निर्माण गर्नु समाधान होइन । “पर्या–पर्यटनको आत्मा भनेकै स्थानीय प्रकृति, संस्कृति र जैविक विविधताको संरक्षणसँगै दिगो लाभ लिनु भएको उनले बताए । डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत जनक पाध्याले पर्या–पर्यटनका सबै गतिविधि संरक्षणमैत्री र मापदण्ड अनुसार हुनुपर्ने बताए ।
सामाजिक, आर्थिक र वातावरणीय पक्षबीच सन्तुलन कायम गर्न सके मात्र पर्या–पर्यटन दिगो बन्ने उनले बताए । स्थानीय समुदायको सक्रिय सहभागिता, स्पष्ट नीति, नियमित अनुगमन र संरक्षणलाई पहिलो प्राथमिकता दिएमा पर्या–पर्यटनले सुदूरपश्चिममा जैविक विविधता जोगाउँदै आर्थिक समृद्धिको बलियो आधार तयार गर्न सकिने उनले बताए ।


