मंसिर ११ धनगढी । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । बिहीबार लुम्बिनी लायन्सलाई रनले हराउँदै सुदूरपश्चिमले चौथो जित दर्ता गरेको हो ।
प्रतियोगितामा समान चार खेल खेलेको लुम्बिनीले तेस्रो हार व्यहोरेको छ । त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १४४ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा सुदूरपश्चिमले तीन विकेटको क्षतिमा १० बल बाँकी रहँदै १४५ रन जोड्यो ।
लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोडे। दिलिप नाथ ३१, डार्सी सट र सुमित महर्जनले समान १८ र गुलबदिन नैबले ११ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदूरपश्चिमका लागि हर्मित सिंह र अविनाश बोहराले समान तीन विकेट लिँदा हेमन्त धामीले दुई र स्कट कुगलेनीले एक विकेट हात पारे ।


