कार्तिक ३० कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५ सय १४ दशमलव ३१ हेक्टर क्षेत्रफल अतिक्रमण गरिएको छ । निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३ सय ७४ दशमलव ४२ हेक्टर क्षेत्रफल अतिक्रमण गरिएको हो । नेपाल–भारत सिमाना पिल्लर नम्बरं २८ क्षेत्रमा करिब १ सय ३९ दशमलव ८९ हेक्टर निकुञ्ज क्षेत्र अतिक्रमणमा परेको निकुञ्ज कार्यालयले जनाएको छ ।
अतिक्रमित क्षेत्रमा तत्कालीन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापितहरू बसिरहेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए । उनले ढक्कामा ६ सय ४, तारापुरमा १ सय ५५ र लल्लेरीमा १३ परिवारले अतिक्रमण गरेर बसिरहेको जानकारी ग राए । उनका अनुसार नेपाल–भारत सिमाना पिल्लर नम्बरं २८ क्षेत्रमा भारतीय नागरिकले करिब १ सय ३९दशमलव ८९ हेक्टर निकुञ्जको क्षेत्र अतिक्रमण गरेर खेती गर्दै आएका छन् ।
सूचना अधिकारी वाग्लेले निकुञ्जको मध्यवर्ती क्षेत्र (कोर एरिया)मा मानव बस्ती बसेकाले वन्यजन्तुको बासस्थानमा असर पुग्ने बताए । “कोर एरियामा निकुञ्जबाट विस्थापित भएकाहरू बस्दै आएको बताउदै उनले यसले वन्यजन्तुको बासस्थानमा समस्या हुने बताए । त्याहा बस्नेहरूले पनि न्यूनतम सेवासुवधा पाउन नसक्ने बताउदै उनले त्यसैले कोर एरियामा बस्ती हुँदा दुवै पक्षलाई असर परेको बताए । निकुञ्जबाट विस्थापितको समस्या समाधान हुन नसक्दा निकुञ्जको कोर एरिया अतिक्रमणमा परेको वाग्लेले बताए ।
हालसम्म ३३ वटा आयोग बने पनि आरक्ष विस्थापितको समस्या समाधान हुन नसकेको उनले बताए । नेपाल–भारत सिमानाको पिल्लर नंम्बर २८ र २७ बीचको निकुञ्ज क्षेत्रमा समेत अतिक्रमण भएको उनले बताए । सिमानामा मुख्य पिल्लरको बीचमा सबपिल्लर नभएकाले उक्त क्षेत्र विवादित बनेको सूचना अधिकारी वाग्लेले बताए । उक्त क्षेत्रमा भारतीय नागरिकले खेतीपाती गर्दै आएको बताउदै उनले त्यस क्षेत्रमा नेपालको पनि दाबी रहेको बताए ।
गत जेठमा पिल्लर नम्बरं २८ नजिक नेपाली सेना र निकुञ्ज कार्यालयले संयुक्त रूपमा पोष्ट स्थापना गरेको उनले बताए । भारतीय पक्षले अतिक्रमण गरेर खेतीपाती गरिरहेका क्षेत्रमा सेनाले पोष्ट स्थापना गरेर गस्ती सुरु गरेको उनले जानकारी गराए । सूचना अधिकारी वाग्लेका अनुसार अहिले निकुञ्जको सुरक्षामा राष्ट्रिय निकुञ्जका विभिन्न स्थानमा नेपाली सेना र राष्ट्रिय निकुञ्ज कार्यालयका १५ वटा संयुक्त सुरक्षा पोष्ट रहेका छन् भने सेनाका छुट्टै तीन वटा पोष्टबाट सेना खटिएका छन् ।
विक्रम सम्बत २०५८ सालमा तत्कालीन शुक्लाफाँटा आरक्ष हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र विस्तार गर्ने क्रममा विस्थापित भएकाहरू निकुञ्जको विभिन्न स्थानमा अतिक्रमण गरेर बसेकाले मानव–वन्यजन्तु द्वन्द्व समेत बढ्दै गएको उनले बताए । एक दशकमा जङ्गली हात्तीको आक्रमणबाट तीन जना महिला र १४ जना पुरुष गरी १७ जनाको मृत्यु भई सकेको उनले जानकारी गराए ।


