कार्तिक २७ काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेपाल प्रहरीका ४ सय ६५ वटा युनिटमा क्षति पुगेकोमा हालसम्म ४ सय ४८ वटा सञ्चालनमा आएका छन् ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा गृहमन्त्री ओमप्रकाश अर्यालले विवरण प्रस्तुत गर्दै क्षति पुगेका १० वटा जिल्ला प्रशासन कार्यालय र ४ वटा इलाका प्रशासन कार्यालयको सेवालाई सुचारु गरिएको जानकारी दिएका हुन् ।
गृहमन्त्री अर्यालले करिब २ महिनाको अवधिमा शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सफल भएको बताए । त्यसैगरी आपराधिक कार्यमा संलग्न ४ सय २९ जनालाई पक्राउ गरी हाल सम्म १ सय ६८ वटा मुद्दा दर्ता भइसकेको उनले जानकारी दिए ।
भदौ २३ र २४ गतेको घटना पश्चात् लुटिएका÷हराएका सुरक्षाकर्मीका हतियार मध्ये ७ सय १८ थान सुरक्षाकर्मीको नियन्त्रणमा ल्याइ सकिएको उनले बताए । बाँकी हतियार फिर्ता ल्याउन सुरक्षा निकायहरूबाट संयुक्त अपरेसन सञ्चालन गरी खोजी कार्यलाई तीव्र बनाइएको उनले बताए ।
गृहमन्त्री अर्यालले भदौ २३ र २४ को घटनामा देशका विभिन्न कारागारबाट कुल १४ हजार ५ सय ५४ जना कैदीबन्दी फरार भएकोमा हाल सम्म ९ हजार ५ सय ४१ जना फिर्ता ल्याएको जानकारी दिए ।
त्यसैगरी ५ हजार १३ जना पक्राउ गर्न बाँकी रहेको उनले बताए । गृहमन्त्री अर्यालले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्राथमिक जिम्मेवारी रहेको बताए ।
समयमै निर्वाचन गरेर छिटो भन्दा छिटो जनताबाट निर्वाचित प्रतिनिधिलाई सुम्पन आफूहरू आतुर रहेको उनले बताए ।


