असोज ३० कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका ५ वटा गिद्धमा जीपीएस जडान गरिएको छ । शुल्काफाँटाको हिरापुर फाँटा, तारापुर फाँटाका ५ वटा गिद्धमा जीपीएस जडान गरिएको हो ।
नेपाल पन्छी संरक्षण संघका परियोजना फिल्ड अधिकृत हिरुलाल डगौंराले हिरापुरसँगै तारापुर फाँटामा गरी दशै अघि सम्म १४ दिनमा ५ वटा गिद्धमा जीपीएस जडान गरिएको बताए । अझै ५ वटामा जीपीएस जडान गर्न बाँकी रहेको उनले बताए ।
तिहारपछि जीपीएस जडानको काम सुरु गरिने बताउदै उनले यस वर्ष १० डंगर गिद्धमा जीपीएस जडान गर्ने योजना रहेको जानकारी गराए । अहिलेसम्म पाँच वटा गिद्व समात्न सफल भएको बताउदै उनले समातिएका सबैमा जीपीएस जडान गरेर छाडिएको बताए ।
गत वर्ष १९ दिनसम्म गिद्ध नेटभित्र नपसेको बताउदै उनले दोस्रो पटकको प्रयासमा जीपीएस जडान गर्न सफल भएको बताए । संघले गत वर्ष पनि निकुञ्ज क्षेत्रमा १० डंगर र ४ वटा सानो खैरे गरी १४ वटा गिद्धमा जीपीएस जडान गरेको उनले जानकारी गराए ।
अहिले ती गिद्ध कहाँसम्म पुग्छन् भन्ने विषयमा अध्ययन भइरहेको उनले बताए । गिद्धको गतिविधि, आहाराका लागि विचरण गर्ने क्षेत्रको पहिचान र विचरण क्षेत्रलाई सुरक्षित बनाउनका लागि जीपीएसबाट अनुगमन गरिने उनले बताए ।
जुन ठाउँमा पुगेर गिद्ध मरेको भेटिन्छ उक्त क्षेत्रमा जोखिमको अवस्था मानिने उनले बताए । त्यो जोखिम कसरी न्युनीकरण गर्न सकिन्छ भनेर काम गर्न अनुगमन भइरहेको डगौंराले जानकारी गराए ।
एक पटक जडान गरेको जीपीएसले ३ देखि ५ वर्षसम्म काम गर्ने उनले बताए । उपचारमा प्रयोग हुने कतिपय औषधिहरु गिद्धका लागि घातक भएको बताउदै उनले तिनको प्रयोगले गिद्धहरु जोखिममा रहेको बताए ।
नेपालमा डाइक्लोफेनक नामक औषधि प्रतिबन्ध गरिएको बताउदै उनले अहिले पशु उपचारमा केटोप्रोफिन, निमुस्लाइड, एसिलोफेनक प्रयोग भइरहेकाले गिद्धलाई जोखिम बढाइएको बताए ।
जुन ठाउँमा गएर गिद्ध मरेको भेटियो उक्त क्षेत्रमा यसबारे सचेतना देखि रोकथामका उपाय अपाउन सहयोग पुग्ने उनले बताए । उनका अनुसार गत वर्ष सेप्टेम्बरमा जीपीएस जडान गरेका सबै गिद्ध जीवित रहेका छन् ।
तीमध्ये एउटा गिद्ध भारतको जिम कर्बेट नेसनल पार्कसम्म पुगेको उनले जानकारी गराए । अन्य पनि भारतको दुधुवा नेसलन पार्कदेखि लग्गाबग्गा संरक्षित क्षेत्र हुँदै पिथौरागढसम्म पुगेको उनले बताए ।
त्यसैगरी बैतडी र डडेलधुरा सम्म पनि गिद्धहरु पुगेको देखिएको डगौंराले बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै कञ्चनपुरका विभिन्न स्थानमा हालै गरिएको गणना अनुसार गिद्धका १ सय २६ गुँड भेटिएको उनले बताए ।
निकुञ्जसँगै लालझाडी, बन्साहा, पर्सिया लगायतका क्षेत्रमा गणना गरिएको थियो । गिद्धमा जीपीएस जडानका लागि निकुञ्जको हिरापुर र तारापुर क्षेत्रमा काम गरिएको हो ।
गिद्धको बासस्थान राम्रो भएका कारण उययुक्त क्षेत्र छनौट गरिएको उनले बताए । यसका लागि नेपाल पन्छी संरक्षण संघसँगै निकुञ्ज कार्यालयका प्राविधिकले संयुक्त रुपमा काम गर्दै आएको उनले जानकारी गराए ।


