भदौ १३ कञ्चनपुर । महिनावारी भएका किशोरीहरूका लागी कैलालीको एउता विद्यालयमा ३ वटा बेडको रेष्ट कोठाको स्थापना गरिएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर– ९ मा रहेको पञ्चाधिन माध्यामीक विद्यालयमा ३ वटा बेडको रेष्ट कोठाको स्थापना गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक गणेश दत्त भट्टले रेष्ट कोठा निर्माण गरिएको जानकारी गराउदै महिनाबारी हुँदा पेट दुख्ने छात्राहरुका लागी सहज भएको बताए । पेट दुखेमा छात्राहरूलाई मोटरसाइकलमा राखेर तत्काल घर पठाउनु पर्ने बाध्यता हटेको उनले बताए ।
बिरामी भएका विद्यार्थीलाई एक जना शिक्षकले घर पु¥याउनु पर्ने बाध्यता रहेकोमा अहिले त्यो समस्या समाधान भएको बताए । यसरी तत्काल घर जानुपर्दा किशोरीहरूलाई झन् पीडा महसुस हुने पढाई पनि छुटने बताउदै उनले हाल विद्यालयमा ३ बेडको रेष्ट रुम स्थापना गरिएपछि समस्या समाधान भएको बताए ।
किशोरीहरूलाई मोटरसाइकलमा राखेर घर लैजादा समाजले पनि नराम्रो दृष्टिले हेर्ने, कुरा काट्ने गरेकोमा विद्यालयमै रेष्ट रुम भएपछि सहज भएको उनले बताए । कक्षा १० मा अध्ययनरत छात्रा मनीषा भट्टले रेष्ट रुम निर्माण भएपछि आफूहरूलाई निकै सहज भएको बताइन् ।
उनले महिनावारी भएको बेला, बिरामी हुँदा घर जानुपर्ने अवस्था रहेको बताउदै अहिले रेष्ट रूपमा बसेर पुन कक्षा कोठामा उपस्थित हुन सहज भएको बताइन् । ‘पेट दुखेमा हट ब्याग प्रयोग गर्ने गरेको बताउदै उनले जसले दुखाइ कम गर्न मदत गर्ने बताईन ।
पहिलेको जस्तो कुनै समस्या भएमा घर जानुपर्ने अवस्था नभएको बताउदै उनले शौचालयमा पनि प्याड व्यवस्थापन गर्ने सुविधा भएको हुँदा निकै सहज भएको बताइन् । विद्यालयमा स्थापना भएको रेष्ट रुम हेर्ने जिम्मा सोही विद्यालयकी शिक्षिका दीपा ओझालाई दिइएको बताउदै उनले रेष्ट रुम विद्यार्थीहरूका लागि एकदमै प्रभावकारी भएको बताइन् ।
विद्यार्थीहरूमा पेट दुख्ने, टाउको दुख्ने सामान्य समस्या देखिएमा रेष्ट रुममा राखेर उपचार पछि कक्षाकोठामा पढ्न पठाउने गरेको बताइन् । ‘रेष्ट रुम स्थापना पछि शिक्षण सिकाइमा सहज भएको बताउदै उनले रेष्ट रुममा महिनावारी भएको किशोरीहरूले बढी सेवा लिने गरेको बताईन ।
महिनावारी भएका बेला किशोरीहरूको पेट दुख्ने समस्या बढी हुने भएकाले त्यस्ता किशोरीहरूलाई रेष्ट रुममा राखेर सिटामोल लगायतका औषधी दिने हट ब्यागले सेक्ने गरेको बताइन् ।
बेसिक फर गल्र्स (विफोरजी) परियोजना अन्तरगत वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले रेष्ट रुम र किशोरी मैत्री शौचालय निर्माण गरेको उनले जानकारी गराईन । उनले कृष्णपुर नगरपालिकाले पनि सहयोग गरेको बताईन ।
एनएनएसडब्ल्यूएका कार्यक्रम संयोजक रामेश्वर जैरुले वर्ड भिजन इन्टरनेसनल र एनएनएसडब्ल्यूएले जनवरी २०२५ देखि कृष्णपुर नगरपालिकाका ५ वटा वडामा बेसिक फर गल्र्स (विफोरजी) कार्यक्रम लागु गरेको बताए । उक्त परियोजना अन्तर्गत महिनावारी स्वच्छता, किशोरीहरूको प्रजनन स्वास्थ्यलाई विशेष ध्यानमा राखेर काम गरिरहेको उनले बताए ।
परियोजनाले समुदायमा लैङ्गिक उत्तरदायित्वको वातावरण तय गर्न खोजेको बताउदै उनले परियोजना स्वास्थ्य संस्था र विद्यालयमा विशेष गरेर केन्द्रित भएको बताए ।
परियोजना अन्तरगत अहिले ५ वटा विद्यालयलाई नमुना विद्यालयका रूपमा अगाडी बढाएको बताउदै उनले वडा नम्बर १ मा कालीका मावि, वडा नम्बर २ मा उदय मावि, वडा नम्बर ४ मा समैजी मावि, वडा नम्बर ७ मा राष्ट्रिय मावि र वडा नम्बर ९ मा पञ्चाधिन माविलाई छनौट गरेको बताए ।
परियोजना अन्तरगत छनौट भएका ५ वटै विद्यालयमा नमुनाका रूपमा महिनावारी हुँदा किशोरीहरूले भोग्नुपर्ने समस्या समाधानका लागि ‘रेष्ट रुम, किशोरी मैत्री शौचालय निर्माण गरिएको उनले बताए ।‘किशोरी महिनावारी हुँदा पेट दुख्ने लगायतका शारीरिक समस्या कम गर्नका लागि रेष्ट रुम बनाएको बताउदै उनले ‘किशोरीहरूका लागि शौचालयमा प्याड व्यवस्थापन गर्न इन्सुलेटरको व्यवस्था गरिएको बताए ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा एनएनएसडब्ल्यूएले हाल कृष्णपुरका ५ वडाका १५ वटा विद्यालयमा वाल स्पोन्सरसिप, समावेशी गुणस्तरीय शिक्षा परियोजना पनि सञ्चालनमा रहेको उनले बताए ।
स्पोन्सरसिप परियोजना अन्तरगत बाल संरक्षणका कार्यक्रम, व्यवहारिक सिप सिकाउने र समावेशी तथा गुणस्तरीय शिक्षा परियोजना अन्तरगत विद्यालयका शिक्षकलाई तालिम, विद्यालयमा समावेशी वातावरण बनाउने, संरचनात्मक सुधार् लगायतका काम भइरहेको संयोजक जैरुले जानकारी गराए ।