फागुन १७ बैतडी । दश बर्षे जनयुद्धमा आफनी दिदि गुमाएका बैतडीको बैतडीको पञ्चेश्वरका धर्मराम ओडले स्वर्गीय दिदीको सम्झनामा रचना स्मृति आर्ट एन्ड मुर्तिकला उद्योग सञ्चालन गरी पुख्र्यौली पेशा सुरु गरेका छन । पञ्चेश्वर गाउँपालिका वडा नम्बर–४,आमचोरा स्थित उज्वलगाउँका ३४ वर्षीय युवा धर्मराम वडले स्वर्गीय दिदीको सम्झनामा रचना स्मृति आर्ट एन्ड मुर्तिकला उद्योग सञ्चालन गरी पुख्र्यौली पेशा सुरु गरेका हुन ।
पुख्र्यौली सिप काठका खोलदेली (कलात्मक झ्याल ढोका) मा बुट्टा कोर्दै, मूर्ति बनाउने काम गर्दै आएका उनले दशबर्षे जनयुद्धमा आफ्नी १९ बर्षीया दिदी गुमाएकोे पीडालाई कम गर्न उनकै नामले फर्म दर्तागरी पेशा ब्याबसागय गर्दै घर परिवारको हातमुख जोर्ने काम गर्दै आएका छन । उनी १४ वर्षको छँदा जेठी दिदी १९ वर्षीय रोशनी वड (रचना) माओवादीको आरोपमा मारिएकी थिईन ।
घटना स्मरण गर्दै उनले २०६१ सालमा आफु १४ बर्षको हुँदा घरको खानतसाली गर्न पटक पटक सुरक्षाकर्मी आउँन थालेपछि केही समय पढ्न नपाएको बताए । शान्ति प्रक्रिया पछि प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्न सफल भएको बताउदै उनले घरको एक्लो छोरा भएकाले विद्यालय शिक्षा पूरा गरेर आर्थिक अभावले उच्च शिक्षा हासिल गर्न नसकेको बताए ।
चार वटा बहिनी मध्ये जेठी दिदी सहिद भएपछि अन्य तीन वटाको विवाह भएको बताउदै उनले राज्यबाट पाएको क्षतिपूर्तिले तीन वटा बहिनीको शिक्षा दिक्षा र आफ्नो पढाइमा सहयोग पुगेको बताए । तीन वटै बहिनीको विवाह पछि आमा बुवाको हेरचाह गर्ने सहारा नहुँदा कतै जाने मौका नपाए पछि बुवा÷ बाजेसँग भएको पुख्र्यौली सिप सिक्न सुरु गरेको उनले बताए ।
बाजे दानी वड काष्ठकलाका निकै सिपालु भएको सुनाउदै उनले बाजेबाटै बुवा कमल वडले पनि उक्त सिप सिकेको उनले बताए । बुवा कमल वड अहिले ६६ वर्षको भएको बताउदै उनले छोरीको सद्गत गर्न नपाएकोमा वृद्ध बुवा अहिले पनि भावुक हुने गेको बताए । छोरीका लागि केही गर्न नसके पनि छोरीका नाममा मूर्तिकला उद्योग सञ्चालन गर्न आफुलाई सुझाव दिएको उनले बताए ।
पुख्र्यौली सिप सिकेर दिदीको नाममा उद्योग खोल्न सफल भएको बताउदै धर्मरामले दर्जनौ मन्दिरका काठका कलात्मक द्वार निर्माण गरिसकेको बताए । भगवानका मूर्ति बनाइसकेका उनले सिमेन्टका मूर्ति र गेट निर्माणमा प्रयोग हुने उपकरण आफैले स्थानीय आरनमा तयार गरेका छन् ।
काठको काम गर्न आवश्यक पर्ने रन्दा, कटर, बासुलो र विद्युत्बाट चल्ने राउटर प्रयोग गर्दै काम गर्दै आएको बताउदै उनले आर्थिक समस्याले थप उपकरण किन्न नसकिएको बताए । पुख्र्यौली सिपको संरक्षण गर्दैै आएका उनले उद्योगलाई कतैबाट सहयोग नमिलेको गुनासो गरे । काष्ठकलामा मेहनत अनुसारको पारिश्रमिक नपाए पनि विदेश जानु भन्दा पुख्र्यौली पेशा गर्न उत्तम ठानेर यसैमा रमाएको उनले बताए ।
पुख्र्यौली पेशा अँगाल्दा गाउँ समाजमा राम्रो परिचय बनेको बताउदै उनले मेहनत अनुसारको ज्याला भने नभएको बताए । विदेशमा अरू काम गर्नु भन्दा गाउँमा बसेर यही पेशा गर्न ठिक भएको बताउदै उनले बिस्तारै सबैले चिन्न थालेको सुनाए ।
पञ्चेश्वर गाउँपालिका भन्दा बाहिर पनि मौलिक घरका खोलदेली र मन्दिर र मूर्ति निर्माणको काम पाईन थालेको उनले बताए । सरकारले सहयोग गरेमा पुख्र्यौली सिप सिकाएर गाउँका युवालाई दक्ष बनाउने धोको रहेको बताउदै उनले पुख्र्यौली सिपसँगै आधुनिक उपकरणका रूपमा स्काभेटरको नमुना समेत तयार गरेको बताए ।


