माघ १७ बैतडी । शहीद दशरथ चन्दको जन्मभूमी बैतडीमा शहीद दिवसको अवसरमा आयोजीत साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी सुरु भएको छ । राष्ट्रियता संरक्षण अभियानको आयोजना, शहीद दशरथ चन्द प्रतिष्ठानको बिशेष सहयोग र दशरथचन्द नगरपालिकाको प्रर्वद्धनमा आयोजीत दशरथचन्द साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठी विहीबार देखि सुरु भएको हो ।
शहीद दशरथ चन्दको जन्मघर बस्कोटमा महोत्सव सञ्चालन गरिएको राष्ट्रियता संरक्षण अभियानका संयोजक हेमबाबु लेखकले जानकारी गराए । शहीद चन्दको बारेमा आम नागरिकलाई जानकारी दिने उद्देश्यले महोत्सवको आयोजना गरिएको उनले बताए । उक्त महोत्सवमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छालीको समेत सहभागिता रहेको उनले जानकारी गराए ।
दशरथचन्द साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीमा नेपाल तथा भारतका साहित्यकारहरुको सहभागिता रहेको उनले बताए ।शहीद दशरथ चन्दको शालिकमा माल्यार्पण गर्दै शुरु भएको गोष्ठी शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोद बहादुर चन्दको अध्यक्षतामा सञ्चालन भएको बताइृएको छ ।
महोत्सवमा प्रमुख अतिथी कुलपचि हार्तम्छाली रहेको बताईएको छ । दशरथचन्द साहित्य महोत्सवको पहिलो दिन सुदूरपश्चिमको संस्कृति झल्काउने छलिया नृत्य तथा भडाहा प्रस्तुत गरिएको थियो । भारतका प्रख्यात कथक नृत्यकार डा. विणा शर्माले कथक नृत्य प्रस्तुत गरेकी छन् भने उक्त क्षेत्रमा गाइने सगुन –फाग समेत प्रस्तुत गरिएको राष्ट्रियता संरक्षण अभियानका सदस्य कविराज भट्टले जानकारी दिए ।
कुमाउनी गायिका भगवती दनुपुरियाले प्रसिद्ध गगनाथको जागरण प्रस्तुत गरेकी थिइन् । शहीदका सपना कति पूरा कति अपूरा शीर्षकमा सञ्चालन भएको बहसमा डा. टेकराज पन्त, प्राध्यापक डा. मुकुन्दप्रसाद कलौनी, बरिष्ठ पत्रकार धमेन्द्र झा, साहित्यकार देवी दुलालले वक्ताको रुपमा सहभागिता जनाएका थिए । उक्त बहसको पत्रकार महादेव अवस्थीले सहजीकरण गरेका थिए ।
यस्तै मानसखण्डको सांस्कृतिक विरासत शीर्षकमा सञ्चालन भएको बहसमा उपप्राध्यापक पञ्चमराज भट्ट,श्यामसुन्दर ढकाल, गणेशदत्त लेखक र साहित्यकार कर्ण दयालले वक्ता रुपमा सहभागिता जनाएकका थिए ।
त्यसैगरी सुदूरपश्चिमका नारी श्रष्टा शीर्षकमा सञ्चालन भएको बहसमा नारा जोशी, हेमन्ती जोशी,श्रेष्ठ प्रिया पत्थर, डा. नारायणी भट्ट र चन्द्रकला पन्तले वक्ताका रुपमा भाग लिएका थिजए । उक्त बहस साहित्यकार रमेश पन्त ‘मितबन्धु’ले सञ्चालन गरका थिए ।
दशरथचन्द साहित्य महोत्सव तथा अन्तर्राष्ट्रिय काव्य गोष्ठीमा बल्देव अवस्थी(पुर्चौडो)को अस्तित्व कविता संग्रह र खिमानन्द बडूको ‘पचपन्नमा पचपन्न’डोटेली कविता संग्रह विमोचन गरिएको छ । महोत्सव अन्तर्गत विहीबार राति नेपाल र भारतका साहित्यकारहरुको सहभागितामा काव्य गोष्ठी सञ्चालन हुने भट्टले जानकारी गराए ।


