माघ ०३ धनगढी । धनगढी–दीपायल द्रुतमार्गको २५ किलोमिटर कालोपत्र गर्न ठेक्का सम्झौता गरिने भएको छ । कैलालीको हाटखोली देखि शिवनगर सम्म सडक कालोपत्रका लागि सङ्घीय सरकारले एक अर्ब बजेट स्वीकृत गरेको हो । धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ्ग सडक योजना कार्यालयले २५ किलोमिटर कालोपत्रका लागि एक अर्ब २० करोड बजेट माग गरेको थियो ।
अर्थ मन्त्रालयले एक अर्बको स्वीकृती दिएको योजना कार्यालयले जनाएको छ । धनगढी देखि हाटखोली सम्म पुरानो ठेक्का छ । धनगढी–स्याउले खण्डको सडक कालोपत्रको काम पूरा भएको छ । हाटखोली क्षेत्रको ठेक्काको काम जारी रहेका बेला नयाँ ठेक्का सम्झौता गर्न बजेटको स्वीकृति गरिएको हो ।
धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ्ग सडक योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले एक अर्ब २० करोड बजेट माग गरेकोमा एक अर्बको स्वीकृति भएको बताए । तर आधिकारिक पत्र नआएको उनले बताए । द्रुतमार्गको कैलाली खण्डको सबै सडक कालोपत्रका लागि योजना कार्यालयले बजेट माग गरेको उनले बताए ।
सडक विभाग मार्फत अर्थ मन्त्रालयमा बजेट माग गरिएको उनले बताए । सडकको ठेक्का सम्झौताका लागि इस्टिमेट स्वीकृत गराउनु पर्ने बताउदै उनले सडक विभागले इस्टिमेट स्वीकृत गरेपछि सडक कालोपत्रका लागि नयाँ ठेक्का सम्झौता गरिने बताए । कैलालीमा २५ किलोमिटर सडक कालोपत्रको ठेक्का नभएको बताउदै उनले एक अर्ब २० करोड माग गरेको जानकारी गराए ।
एक अर्ब बजेट आएको बताउदै उनले २५ किलोमिटरको बहुवर्षीय ठेक्का हुने बताए । इस्टिमेट स्वीकृत गर्नुपर्ने बताउदै उनले ’योजना कार्यालयले बजेट स्वीकृतिको आधिकारिक पत्र आए पछि इस्टिमेट विभागमा पठाउने तयारी गरेको बताए । विभागले इस्टिमेट स्वीकृत गरेपछि नौ मिटर चौडाइमा कालोपत्र सहितका भौतिक संरचनाहरू निर्माण हुने उनले बताए ।