माघ ०१ कञ्चनपुर । कञ्चनपुरको चुरे क्षेत्रबाट भरुवा बन्दुक सहित प्रहरीका पूर्वअसइलाई वन रक्षकले पक्राउ गरेको छ । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८, उत्तरी चुरे वन क्षेत्रबाट भरुवा बन्दुक सहित उनलाई वन रक्षकले पक्राउ गरेको हो ।
सोमबार शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ स्थित सुनदेवी महिला सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र अन्तर्गत पर्ने चुरे वनबाट भरुवा बन्दुक सहित शुक्लाफाँटा नगरपालिका वडा नम्बर–६ का खडकबहादुर खड्कालाई वन रक्षकले पक्राउ गरेको हो ।
खड्का नेपाल प्रहरीका पूर्व असइ भएको खुलेको छ । शुक्लाफाँटा सव–डिभिजन वन कार्यालयबाट खटिएका वन रक्षक खेम साउँद र वन स्काउट ईन्द्र बम नेतृत्वको टोलीले खड्कालाई नियन्त्रणमा लिएको हो । चुरे राष्ट्रिय वनमा जडान गरेको क्यामेराहरूको निरीक्षणमा गएको वेला उनलाई पक्राउ गरिएको हो ।
चुरे क्षेत्रको गिठे भन्ने ठाउँबाट खड्कालाई बन्दुक लुकाइरहेको अवस्थामा देखे पछि पक्राउ गरिएको हो । खड्का सिकार गर्नकै लागि चुरे वनमा गएको वन रक्षकको टोलीले दाबी गरेको छ । भरुवा बन्दुक सहित पक्राउ गरिएको खड्कालाई इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको छ ।
इलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक झलकप्रसाद शर्माले खड्कामाथि अनुसन्धान भइरहेको बताए । खड्काविरुद्ध हातहतियार देखि चोरी सिकारीजन्य गैरकानुनी कसुरमा मुद्दा आकर्षित हुने उनले बताए । वनको टोलीले सोमबार खड्कालाई प्रहरीमा बुझाएको उनले बताए । घटनाका विषयमा अनुसन्धान गर्ने काम भइरहेको प्रहरी निरीक्षक शर्माले बताएका छन ।