पौष ०५ धनगढी । कैलालीको टीकापुरका महिलाहरु बेतबाँसका सामानहरु बनाएर आत्मनिर्भर बन्दै गएका छन । बेदबाँसको फर्निचरमा गएर काम गर्दै सामानहरु बनाएर उनीहरु आत्मनिर्भर बन्दै गएका हुन । टीकापुर नगरपालिका वडा नम्बर–१५ की अञ्जली थापाले बिहान घरको काम धन्दा र बच्चालाई स्कुल पु¥याएर दिउँसोको समयमा टीकापुर नगरपालीका वडा नम्बर–७ स्थित तिलगङ्गा बेत–बाँस फर्निचर उद्योगमा गएर काम गर्ने गरेको बताईन ।
बिहान–बेलुका घरको कामसँगै उद्योगमा काम गरेर मासिक २५ देखि ३० हजार सम्म कमाउदै आत्मनिर्भर बनेको उनले बताईन । घरमा बसेर घरको रेखदेखसँगै आम्दानी हुने काम गर्न पाउँदा खुसी भको उनले बताईन । श्रीमान् रोजगारीको सिलसिलामा भारत गएको बताउदै उनले घर र केटाकेटीको स्याहार सुसारसँगै घरखर्च आफैले बेहोर्ने गरेको बताईन ।
त्यही उद्योगमा काम गरी रहेकी टीकापुर नगरपालीका वडा नम्बर–३ की सुनिता चौधरीले पनि घर चलाउन सहज भएको बताईन । खेतीबारीसँगै नजिकै रहेको उद्योगमा काम गर्दा निकै सहज भएको बताउदै उनले घरपरिवार केटाकेटी, पाल्न सहज भएको बताईन । श्रीमानसँगै सोही उद्योगमा कार्यरत भएको बताउदै उनले खेती पनि लगाउने गरेको बताईन । रोजगारी पनि पाएको बताउदै उनले घरपरिबारसँग समय बिताउन पाएकाले पनि खुसी भएको बताईन ।
अञ्जली र सुनिता जस्तै उक्त फर्निचर उद्योगमा ३५ जनाले काम गरिरहेका छन् । टीकापुर नगरपालीका वडा नम्बर–७ सत्तीमा पाँच वर्षअघि स्थानीय भरतलाल विकले तिलगङ्गा बेत–बाँस फर्निचर उद्योग सञ्चालनमा ल्याएका हुन् । ‘उद्योग सञ्चालनको सुरुआतमा भारतको कलकत्ताबाट कामदार ल्याएको बताउदै उनले विस्तारै स्थानीयलाई काम सिकाएको बताए ।
अहिले ३५ जना स्थानीयलाई रोजगार दिइरहेको बताउदै उनले भारतीय कामदारले भन्दा स्थानीयले रोजगारी पाउन भन्ने उद्देश्यले स्थानीयलाई प्राथमिकतामा राखेको उनले बताए । कामदारलाई प्रतिगोटाका आधारमा पारिश्रमिक दिने गरेको बताउदै विकले एक जनाले मासिक २५ देखि ३० हजार सम्म आम्दानी गर्ने गरेको बताए ।
आठ वर्ष मलेसियामा बसेको बताउदै उनले त्यसपछि भारतको कलकत्तामा गएर काम सिकेको बताए । सिकेको सीप आफ्नै ठाउँमा सदुपयोग गर्दै स्थानीयले पनि रोजगारी पाउन भन्ने उद्देश्यका साथ उद्योग सञ्चालन गरेको उनले जानकारी गराए । १० लाखबाट सुरु गरेको उद्योगबाट थुप्रै कमाए भन्न नसकेपनि सन्तुष्ट भएको बताउदै उनले उद्योगमा उत्पादित सामग्रीले राम्रो बजार पनि पाइरहेको जानकारी गराए ।
बर्षायाममा बेत–बाँसको काम नहुँने समेत उनले जानकारी गराए । टीकापुर नगरपालिका कार्यालयमा पनि उद्योगबाट उत्पादित सामग्री प्रयोग भइरहेको र काठमाडौँ, पोखरा लगायतका विभिन्न जिल्लामा सामग्री पठाउने गरेको उनले जानकारी गराए । नजिकै रहेको सत्ती कर्णाली सामुदायिक वनबाट आवश्यकता अनुसार बेत–बाँस ल्याउने गरेको बताउदै उनले उनले सामुदायिक वनले बोलपत्र आह्वान गरी बेत–बाँस बिक्री गर्ने गरेको बताए ।


