मंसिर ०४ धनगढी । सुदूरपश्चिम प्रदेशमा सम्बन्ध विच्छेदका लागी २ हजार ८ सय ६२ जनाले मुद्धा दर्ता गराएका छन । तीन वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशमा दुई हजार ८ सय ६२ जनाले सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्धा दर्ता गराएका हुन । आर्थिक वर्ष २०८०÷८१ मा एक हजार ९६ जनाले सम्बन्ध विच्छेद गरि पाउँ भन्दै अदालतमा मुद्धा दर्ता गरेका हुन् ।
त्यसैगरी आर्थिक वर्ष २०७९÷८० मा ९ सय ७० र आर्थिक वर्ष २०७८÷७९ मा ७ सय ९६ जनाले सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गरेका थिए । कैलाली जिल्ला अदालतमा तीन वर्षको अवधिमा एक हजार ४ सय १२ जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् । सम्बन्ध विच्छेद गर्नेमा कैलाली जिल्ला सबैभन्दा अग्रस्थानमा देखिएको छ ।
एक हजार ४८ जना महिलाहरूले सम्बन्ध विच्छेद गरी पाउ भनि निवेदन दिएका छन् । तीन वर्षको अवधिमा बैतडी जिल्ला अदालतमा सम्बन्ध विच्छेदका ६८ वटा मुद्दा दर्ता भएका छन् । त्यसैगरी बाजुरा जिल्ला अदालतमा ९३ जना, डडेल्धुरा जिल्ला अदालतमा महिलाका तर्फबाट ७८ र पुरुषका तर्फबाट ५६ गरी १ सय ३४ जनाले सम्बन्ध विच्छेदका लागी मुद्धा दर्ता गराएका छन ।
डोटीमा ५१ जना महिला र ३१ जना पुरुषले गरी ८२ जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् । अछाम जिल्ला अदालतमा ६१ जना महिला र २८ जना पुरुष गरी ८९ जनाले सम्बन्ध विच्छेदका लागी मुद्धा दर्ता गराएका छन । विगत तीन वर्षको अवधिमा बझाङ जिल्ला अदालतमा ५६ जना महिला र ४८ जना पुरुष गरी एक सय चार जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् ।
त्यसैगरी दार्चुला जिल्ला अदालतमा उक्त अवधिमा एक सय २७ जनाले सम्बन्ध विच्छेदका लागी मुद्धा दर्ता गराएका छन भने कञ्चनपुर जिल्ला अदालतमा ७ सय ५३ जनाले सम्बन्ध विच्छेदका लागी मुद्दा दर्ता गराएका छन ।


