मंसिर १२ धनगढी । कैलालीको गोदावरी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत ७५ जनालाई तालिम सहित रोजगारी दिने भएको छ । नगरपालिकाले यस वर्ष १२ वटै वडामा ७५ जनालाई ५० दिने तालिम सहित सय दिने रोजगारी दिने भएको हो ।
उनीहरुलाई ५० दिनको रोड मेन्टनेन्स र मेसनको तालिम दिइने नगरपालिकाका रोजगार सेवा केन्द्रका रोजगार संयोजक रोहित प्रसाद जोशीले बताए । उनले गत वर्ष एक सय दिन काम गराइएको भए पनि यस वर्ष एक सय दिने रोजगारी कार्यक्रमलाई तालिम सहित सञ्चालन गर्न लागिएको बताए । हाल गोदावरीको वडा नम्बर ८ मा एक सय दिने रोजगारी कार्यक्रम सुरु भएको र अन्य वडामा सुरु हुने क्रममा रहेको रोजगार शाखाका संयोजक जोशीले बताए ।
नगरपालिकाको एक सय दिने रोजगारीका लागि ७ सय ५१ जनाले आफ्नो नाम सूचिकृत गराएको उनले बताए । जसमध्ये वडा नम्बर १ बाट ५ जना, वडा नम्बर २ बाट १० जना, वडा नम्बर ३ बाट २ जना, वडा नम्बर ४ बाट ७ जना, वडा नम्बर ५ बाट १० जना, वडा नम्बर ६ बाट ५ जना छनौट गरिएकोउनदे बताए ।
त्यसैगरी वडा नम्बर ७ बाट ४ जना, वडा नम्बर ८ बाट ९ जना, वडा नम्बर ९ बाट ४ जना, वडा नम्बर १० बाट ७ जना, वडा नम्बर ११ बाट ३ जना र वडा नम्बर १२ बाट ९ जना छनौट गरिएको छ । यस वर्ष कार्यक्रम सञ्चालनका लागि संघीय सरकारले ५० लाख बजेट विनियोजन गरेको नगरपालिकाको रोजगार शाखाले जनाएको छ । गत वर्ष गोदावरी नगरपालिकामा ७३ जनालाई एक सय दिने रोजगार कार्यक्रममा सहभागी गराइएको थियो ।
सरकारले प्रत्येक वर्ष पालिकाहरूबाट सय दिने रोजगार कार्यक्रम सञ्चालन गर्दै आएको छ । रोजगारीको हक सम्बन्धी ऐन, २०७५ अनुसार प्रत्येक स्थानीय तहमा एक रोजगार सेवा केन्द्र रहने प्रावधान रहेको छ । रोजगार सेवा केन्द्रले बेरोजगार व्यक्ति, आन्तरिक तथा वैदेशिक रोजगारीको अवस्था तथा रोजगारदाताको सूचना सङ्कलन गरी अद्यावधिक गर्ने र सोको प्रतिवेदन प्रदेश र संघका सम्बन्धित मन्त्रालयमा पठाउने प्रावधान ऐनमा उल्लेख छ ।
ऐन अनुसार स्थानीय तहमा रोजगार सेवा केन्द्र सञ्चालनका लागि नगरप्रमुखको संयोजकत्वमा स्थानीय निर्देशक समिति र आर्थिक विकास समिति संयोजकको संयोजकत्वमा रोजगार संवाद मञ्च रहने व्यवस्था छ । वैदेशिक रोजगारीको विकल्पमा सञ्चालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको १ सय दिनको रोजगारीले युवालाई आकर्षण गर्न सकेको छैन ।
देशभर चालु आर्थिक वर्ष २०८१÷८२ का लागि आ–आफ्नो पालिकामा बेरोजगारी सूचीमा सूचीकृत ७ लाख ९७ हजार ७ सय २५ जनामा ६० हजारलाई मात्रै न्यूनतम एक सय दिनको रोजगारी दिइने जनाइएको छ । बेरोजगारलाई तालिम सहित न्यूनतम रोजगारी दिने उद्देश्यले २०७५ फागुन १ गते देखि यो कार्यक्रम सुरु गरिएको थियो । यस कार्यक्रमका लागि ६ अर्ब ९ करोड ४५ लाख रुपियाँ विनियोजन गरिएको छ ।


