मंसिर ०७ धनगढी । नेपाल आयल निगमले सुदूरपश्चिम प्रदेशका दुई वटा जिल्ला बझाखङ र बाजुरामा पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ । आयल निगमले सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुरामा पेट्रोल पम्प सञ्चालन गर्ने भएको हो । सुदूरपश्चिम प्रदेशका दुई वटा जिल्लामा पेट्रोल पम्प नहुँदा बोटल÷ मार्फत इन्धन बिक्री हुँदै आइरहेको निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले जानकारी गराए ।
उनले सर्वसाधारणहरू गुणस्तरसँगै मूल्यमा पनि ठगिने हुनाले उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले दुई जिल्लामा पम्प सञ्चालन गर्ने निर्णय गरेको जानकारी गराए । पम्प सञ्चालनका लागि पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली २०७५ मा स्पष्ट व्यवस्था गरिएको बताउदै उनले अहिले प्राथमिकतामा परेका दुई जिल्लाको हकमा ‘ग’ वर्गका पम्प सञ्चालनको अनुमति दिइने जानकारी गराए ।
विनियमावली अनुसार ‘ग’ वर्गका पम्प सञ्चालन गर्न जग्गाको क्षेत्रफल कम्तीमा १२ सय वर्ग मिटर वा चार कट्ठा वा दुई रोपनी ६ आना (पहाडी भेग) भई सडकतर्फको मोहडा कम्तीमा २५ मिटर हुनुपर्ने उनले जानकारी गराए ।
बिक्री स्थल हाताभित्र विभिन्न सुविधायुक्त मास्टर प्लान नक्सा बमोजिम कम्तीमा ७६ वर्ग मिटर ‘प्लिन्थ क्षेत्रफल’ को पक्की बिक्री कक्ष भवन निर्माण गरेको हुनुपर्ने उनले बताए । प्रस्तावित बिक्रीस्थलको राजमार्गको ‘क्यारेज वे’ देखि ‘एप्रोच यार्ड’ तथा पार्किङ स्थलको पेभमेन्ट ब्याकटप कंक्रिट वा इन्टरलकिङ कंक्रिट टायलले फिनिसिङ गरेको हुनुपर्ने उनले बताए ।
अन्डरग्राउन्ड स्टोरेज टैंक र शौचालय बीचमा राजमार्गबाट नदेखिने गरी २ मिटर अग्लो स्क्रिन वाल निर्माण लगायत पूर्वाधार बनाउनु पर्ने उनले बताए । यी बाहेक सिमानाको पर्खाल, रिफ्युलिङ जोनको सेड, सर्फेस ड्रेनेज, स्क्रिन वाल, वफर स्ट्राइप, डिस्पेन्सिङ पम्प जडान लगायतको पूर्वाधार पनि तयार गर्नुपर्ने बताउदै उनले पूर्वाधार पूरा गर्न सक्नेले पम्प सञ्चालन गर्न इजाजत पाउने बताए ।


