भदौ ०५ धनगढी । घरेलु तथा साना उद्योग कार्यालय धनगढीले एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’अन्तर्गत कैलालीका ३३ वटा उद्योगलाई अनुदान प्रदान गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयले आर्थिक वर्ष २०८०÷८१ मा कैलालीका १० वटा निर्वाचन क्षेत्रबाट ३३ वटा उद्योगलाई छनोट गरी अनुदान प्रदान गरेको हो ।
प्रदेश सभामा १० वटा निर्वाचन क्षेत्र रहेको कैलालीमा ३३ वटा उद्योगलाई छनौट गरी अनुदान दिइएको घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत टीकेन्द्रप्रसाद जोशीले जानकारी गराए । लामो समय देखि सञ्चालनमा रहेका उद्योगको स्तरोन्नति गर्न ‘एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’ कार्यान्वयनमा ल्याइएको उनले जानकारी गराए ।
सुदूरपश्चिम प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रमका लागि गत आर्थिक बर्षमा एक करोड ५० लाख बजेट विनियोजन गरिएको उनले जानकारी गराए । घरेलु तथा सानाउधोग कार्यालयमा दर्ता भएर सञ्चालनमा रहेका सबै प्रकृतिका उद्योगको स्तरोन्नतिका लागि अनुदान स्वरुप छनौट गरिएका उद्योगलाई प्रति उद्योग तीन देखि पाँच लाख सम्म अनुदान उपलब्ध गराइएको लेखा अधिकृत जोशीले जानकारी गराए ।
उद्योगको स्तरोन्नति पछि अनुदानका लागि छनौट भएका उद्योगका सञ्चालकले उद्योगलाई आवश्यक पर्ने औद्योगिक उपकरण लगायत सामग्री खरिद गरेको बिल कार्यालयलाई उपलब्ध गराए पछि खरिद गरेको बिलका आधारमा रकम भुक्तानी गरिएको लेखा अधिकृत जोशीले जानकारी गराए । उद्योगीको २० प्रतिशत र प्रदेश सरकारको ८० प्रतिशत लागत साझेदारीमा अनुदान दिइएको लेखा अधिकृत जोशीले जानकारी गराए ।
लेखा अधिकृत जोशीले डेरी, फर्निचर, मौरीपालन, कृषिजन्य लगायत स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई छनौट गरी अनुदान दिइएको जानकारी गराए । उद्योग स्थापना भए देखि सरकारी सहायता नलिएका उद्योगलाई अनुदान दिइएको जानकारी गराउदै लेखा अधिकृत जोशीले सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन सहयोग कार्यक्रम’ घरेलु तथा साना उद्योग कार्यालय मार्फत सञ्चालन भएको जानकारी गराए ।


