असार ०८ धनुषा । धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर–२ बेलाचापीस्थित सतलोक आश्रममा २१ जोडीले सामूहिक रुपमा दाइजोमुक्त अन्तरजातीय विवाह गरेका छन् । सन्त रामपालको सतलोक आश्रममा कबिर परमेश्वरको ६२७ औँ प्रकट दिवसको अवसरमा आयोजित समारोहमा शुक्रबार २१ जोडीले सामूहिक अन्तरजातीय विवाह गरेका हुन् ।
गुरुवाणीद्वारा २३ करोड देवीदेवताको स्तुति गर्दै रमैणी मन्त्र उच्चारण गरी १७ मिनेटमा सामूहिक विवाह सम्पन्न गराइएको सन्त रामपालका अनुयायी ईश्वरदत्त भट्टले जानकारी दिए । उनका अनुसार विभिन्न महोत्सवमा यहाँ सामूहिक तथा दाइजोमुक्त विवाह हुने गरेको बताइन्छ ।
कबिर जयन्तीका अवसरमा उनको सम्झनामा प्रत्येक वर्ष मनाइने कबिर परमेश्वर प्रकट दिवस शनिबार विविध कार्यक्रम गरी भव्यताका साथ मनाइँदै छ । कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, मुख्यमन्त्री सतिशकुमार सिंह लगायत प्रदेशका विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको छ ।


