असार ०३ सुर्खेत । आफ्नै अस्पतालमा कार्यरत सुरक्षा गार्डलाई जातीय छुवाछूत तथा भेदभाव गरेको आरोपमा सुर्खेत अस्पतालका व्यवस्थापक भक्तबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत अस्तालमा सुरक्षा गार्डका रूपमा कार्यरत टीकाराम विश्वकर्मालाई जातीय विभेद गरेको आरोपमा अस्तालका व्यवस्थापक शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
विश्वकर्माले जाहेरी दिएपछि अनुसन्धानका लागि शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए । डीएसपी विश्वकर्माका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी परेपछि गत बिहीबार शाहीलाई पक्राउ गरिएको हो ।
स्वास्थ्य जाँचका क्रममा बेहोस भएर ढलेपछि शाहीलाई प्रहरीको निगरानीमा प्रदेश अस्पताल सर्खेतमा भर्ना गरिएको उनले जानकारी गराए । प्रहरीका अनुसार ६५ वर्षका विश्वकर्मालाई गत जेठ २८ गते अस्पतालकै सुरक्षामा खटिएका बेला राति साढे ११ बजेतिर सुर्खेतको भेरिगंगा नगरपालिका स्थायी घर भएका ३५ वर्षका अस्पतालका व्यवस्थापकले तँ कामी, डुम, दलित यस अस्पतालमा काम गर्न पाउँदैनस् भनि जातीय रूपमा होच्याउने गाली गर्दै गलतहत्याएर अस्पताल हातबाट निकालेको जाहेरीमा उल्लेख गरिएको छ ।
शाहीको उपचार जारी रहेको र स्वास्थ्य सामान्य भए पछि पुनः हिरासतमा लिने र थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी गराएको छ ।


