कैलालीको टीकापुरस्थित ३० बिघा सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले को कीर्तेतर्फ अनुसन्धान सुरू गरेको छ । टीकापुर नगर विकास समिति र पहुँचवालाको मिलेमतोमा सरकारी जग्गा हिनामिना भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि २ सय ४९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ ।
अख्तियारको पत्राचार पछि ब्यूरोले कीर्तेतर्फ अनुसन्धान सुरु गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख श्यामलाल ज्ञवालीले अख्तियारको पत्राचार पछि कीर्तेतर्फ पनि अनुसन्धान सुरु गरेको बताए । सरकारी कागज कीर्ते गरेर जग्गा हिनामिना गरिएको भन्ने विषयमा ब्यूरोबाट अनुसन्धान टोली तत्काल कैलाली पठाईने उनले जानकारी दिए ।
यसअघि अख्तियारले दायर गरेको मुद्दामा टीकापुर नगरपालिका वडा नम्बर–१ स्थित टीकापुर बजार क्षेत्रको करिब ६ सय रोपनी जग्गा नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायतको मिलोमतोमा नक्कली रसिद बनाई अध्यक्ष, पदाधिकारी एवं कर्मचारीको संलग्नतामा प्लटिङ गरेर बदनियतपूर्ण रुपमा रकम उठाइ बेचबिखन गरेको उल्लेख गरिएको छ ।
समितिको स्वामित्वमा रहेको जग्गा व्यक्ति विशेष तथा संघ–संस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम उपलब्ध गराउनु पर्नेमा त्यसविपरीत नक्कली कागजात खडा गरी व्यक्तिका नाममा हस्तान्तरण भएको अख्तियारको अभियोग पत्रमा उल्लेख गरिएको छ ।
राजनीतिक पहुँच र मिलेमतोमा जग्गा हिनामिना भएको आरोप लाग्दै आएको छ । उक्त जग्गा हिनामिना प्रकरणमा कांग्रेस नेतृ डाः आरजु राणा देखि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी सम्म संलग्न रहेको दाबी गरिएको भए पनि अख्तियारले उनीहरुलाई भने प्रतिवादी बनाएको थिएन । जग्गा हिनामिनाको क्रममा थुप्रै सरकारी कागजपत्र कीर्ते बनाइएको खुले पछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराइसकेको अख्तियारको आग्रहमा प्रहरीले कीर्तेतर्फ पनि अनुसन्धान सुरु गरेको हो ।