माघ १२ धनगढी । धनगढीको नमुना प्राविधिक माध्यामीक विद्यालयमा प्रदेश युवा परिषद् एसईई आइडल तेस्रो संस्करणको २३ औं अडिसन सम्पन्न भएको छ । धनगढी गाउँमा रहेको उक्त माध्यामीक विद्यालयमा शुक्रबार आइडलको २३ औं अडिसन सम्पन्न हो । अडिसनमा ६ जनाले गायन र ५ जनाले नृत्य गरी कुल ११ जनाले आफ्नो प्रतियोगितात्मक प्रस्तुती पस्केका थिए । अडिसनमा सहभागि प्रतिस्पर्धीहरुलाई छात्रवृत्ति कुपन र एसईई सहयोग पुस्तिका निशुल्क रुपमा वितरण गरिएको थियो ।
एसईई आइडल ३ सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका ३० भन्दा बढी स्थानमा अडिसनहरु आयोजना हुने जानकारी गराईएको छ । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउने आयोजकले जानकारी गराएका छन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउने छन् । असोज देखि फाल्गुण सम्म सुदूरपश्चिम प्रदेशका ९ वटै जील्ला भरी नै अडिसन प्रतियोगिताहरु संचालन हुने जानकारी गराउदै आयोजक संस्थाका प्रकाश छेडालले नृत्य र गायन विधाका उत्कृष्ट ३०–३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउने जानकारी गराए ।
दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५–१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउने जानकारी गराउदै उनले फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्ने बताए । दुवै विधाका विजेता र उप विजेताले क्रमश ५०–५० हजार र २५–२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउने उनले जानकारी गराए । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउने उनले जानकारी गराए ।
थप अडिसन स्थलहरुको खोजी भईरहेको जानकारी गराउदै उनले प्रतियोगितामा सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न अनुरोध गरेका छन । उनले यस भन्दा पहिले पनि २ वटा संस्करणहरु आयोजना गरि सकेको जानकारी गराउदै मुख्य प्रबर्द्धकका रुपमा प्रदेश युवा परिषद्, सुदूरपश्चिम प्रदेश रहेको बताए । एसईई आइडल ३ मा रेडिकल एकेडेमी लगायतका विभिन्न संघसंस्थाहरुको पनि विशेष सहयोग रहेको उनले जानकारी गराए ।


