मंसिर ०२ धनगढी । कैलालीका उद्योग व्यवसाय आयात निर्यात ठप्प भए पछि प्रभावित भएका छन् । कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय,टुर मुकाम मोहना करिब ४ महिना देखी बन्द हुँदा उद्योग व्यवसायहरू प्रभावित बनेका हुन् । लामोसमय देखी क्वारेन्टाइन बन्दले आयात निर्यात ठप्प हुँदा उद्योग सञ्चालनमा समस्या भएको व्यवसायीहरुले बताएका छन् । त्रिनगर भन्सार नाका भएर उद्योगका लागि कच्चा पदार्थ भित्र्याउन नसकिदा कैलाली सहित सुदूरपश्चिम जिल्लाका उद्योगहरु सञ्चालनमा कठिनाई भैरहेको हो ।
धनगढीस्थित विवेक ग्रुप अफ कम्पनिजका अध्यक्ष विवेक भट्टले त्रिनगर भन्सार नाकाबाट कच्चा पदार्थ ल्याउन नसकिएका कारण उद्योग सञ्चालनमा समस्या भएको बताए । प्लान्ट क्वारेन्टाइन बन्द हुँदा आफ्नो मात्रै नभई प्रायः सबै उद्योग सञ्चालनमा समस्या भइरहेको उनले बताए । जसकारण व्यवसाय पलायन हुने चिन्ता थपिएको उनले बताए । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको उक्त कार्यालय गएको साउन २८ गतेबाट बन्द भएको छ ।
त्रिनगर भन्सारमा विगत तीन वर्षदेखि सञ्चालनमा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयलाई संघिय सरकारले एक्कासि बन्द गरे पछि उद्योगका लागि चाहिने विभिन्न किसिमका कच्चा पदार्थ देखि फलफूल आयात निर्यात समेत ठप्प बनेको छ । त्रिनगर भन्सार भएर धान, गहुँ, मकै, दलहन, फलफूल तथा पशुपन्छी र दुधजन्य वस्तु आयात निर्यात हुन सकेको छैन । यी वस्तुको आयात निर्यात ठप्पले खाद्य, तेल, मैदा, दाना, बेकरीसँग सम्बन्धित उद्योग प्रभावित भएका छन् । यस्तै नवीन प्यालेट दाना उद्योग प्रालिका सञ्चालक दिनेश लम्सालले आयात निर्यात ठप्प भएको अहिलेको अवस्थामा उद्योग सञ्चालन गर्न नसकिनेको बताए ।
एकातिर बैकको चर्को ब्याजदर, त्यसैमा आयात निर्यात ठप्प हुँदा ब्यवसायमा झनै समस्या थपिएको बताउदै उनलेै प्लान्ट क्वारेन्टाइन यथाशीघ्र पुनः सञ्चालनमा आउनु पर्ने बताए । पुनः सञ्चालनमा नआए उद्योगको चाबी सरकारलाई बुझाउने उद्योगीहरुको अबश्था आउने उनले बताए । त्रिनगर भन्सार नाकाबाट आयात निर्यात ठप्प भएपछि नेपालगन्ज नाका भएर कच्चा पदार्थ आयात गर्नु पर्ने बाध्यता भएको उनले बताए । नेपालगन्ज नाकाबाट सुदूरपश्चिम प्रदेशमा रहेका उद्योगका लागि कच्चा पदार्थ भित्र्याउँदा ढुवानी लागत नै बढी हुने गरेको उनले बताए ।
साउनमा प्लान्ट क्वारेन्टाइन बन्द भए पछि त्यहाँ कार्यरत बाली संरक्षण अधिकृत प्रमोद ठगुन्ना पनि अध्ययनका लागि विदेश गएका छन् । क्वारेन्टाइन कार्यालयले बाहिरबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूलमा रोग र किरा जाँच गर्दै आएको थियो । नेपालबाट भारत निर्यात हुने पिना र तेजपत्ता पनि सोही कार्यालयले जाँच गर्ने गरेको थियो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्लान्ट क्वारेन्टाइन एक्कासि बन्द भए पछि आयात–निर्यात ठप्प भई उद्योग प्रभावित भएको विषयमा संघिीय सरकारको ध्यानाकर्षण गराएका छन् । उनले राजस्व असुलीमै गिरावट आएकाले कैलाली भन्सार नाकामा स्थायी रूपमा प्लान्ट क्वारेन्टाइन कार्यालय स्थापनाका लागि निर्णय गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कात्तिक २० गते पत्र पठाएका थिए ।


