कार्तिक १८ धनगढी । शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ । प्रधानमन्त्रीको कार्यालयले दिएको जानकारी अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या जाजरकोटमा ९२ जना र रुकुम पश्चिममा ३६ जना गरी १ सय २८ जना पुगेको हो । त्यसैगरी अहिलेसम्म प्राप्त विवरण अनुसार भूकम्पमा परी घाइते हुनेको संख्या १ सय ४० पुगेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको कार्यालयका अनुसार भूकम्पका कारण जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना गरी १ सय ४० जना घाइते भएका हुन् । भूकम्पमा परी जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुखको मृत्यु भएको छ ।
भूकम्पमा परेर उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिए । उनका अनुसार नगर उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । क्षतिको विवरण संकलन कार्य जारी रहेकाले एकिन विबरण भने आउन नसकको प्रधान मनत्तीको कार्यालयले जनाएको छ । जाजरकोटलाई केन्द्र विन्दु बनाएर शुक्रबार राति ११ बजेर ४७ मीनेटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण सबे बढी क्षती जाजरकोटमा भएको छ ।
शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी गराए । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए । प्रवक्ता कडायतले सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली खटिएको बताए । त्यसैगरी भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले जानकारी गराए । उनले रातीको समय भएकाले थप विवरण संकलन गर्न कठिनाइ भइरहेको जानकारी गराए । रुकुम पश्चिमका आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिका भूकम्पले बढी प्रभावित भएको बताइएको छ । भूकम्पले घर र गोठहरु भत्किएका छन् भने सडकहरु पनि अवरुद्ध भएका छन् । मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खसेर बाटो अवरुद्ध र त्यसलाई पन्छाउने काम जारी रहकोबताईएको छ ।
पालिकाभित्रका अन्य सहायक सडकहरुमा पनि सुक्खा पहिरो गएको बताईएको छ । त्यसैगरी चौरजहारी नगरपालिकाकी उपप्रमुख ईश्वरी शर्माका अनुसार चौरजहारीस्थित मिसन अस्पताल र खोलागाउँस्थित शहीद स्मृति अस्पतालमा गरी करिब दुई दर्जन घाइतेहरु उपचाररत रहेका छन् । धेरै घाइतेहरु मिसन अस्पतालमा छन् । गम्भीर घाइतेहरुलाई थप उपचारका लागि एम्बुलेन्स मार्फत सुर्खेत, नेपालगन्ज लगायतका स्थानमा रिफर गरिएको छ ।
भूकम्पबाट बालबालिका, बुढाबुढीहरु बढी प्रभावित भएका छन् । गोठ भत्किएर पशु चौपाया पुरिएर मरेका छन् । त्यसको विवरण संकलन गर्न बाँकी छ । सानीभेरी र चौरजहारी नगरपालिकाको बीचमा पर्ने बाटो अवरुद्ध भएकाले डोजरको सहायताले खुलाउने प्रयास भइरहेको बताईएको छ । त्यसैगरी रुकुमपश्चिममा मृत्यु भएका ३६ जनामध्ये २७ जनाको सनाखत भएको छ । आठबिसकोट नगरपालिकाकामा १८ र सानीभेरी गाउँपालिकामा ९ जनाको सनाखत भएको हो । मृत्यु हुनेमा बालबालिकाहरु धेरै रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले सार्वजनिक गरेको विवरण अनुसार आठबिसकोट नगरपालिका १२ साबार्को बस्ने १४ वर्षीय रमेश पुन, सोही ठाउँका १३ वर्षीय डिलबहादुर केसी, वडा नम्बर १४ का ३ वर्षीय बासु बुढा, सोही ठाउँका ३० वर्षीय अमृता जैसी, ५ वर्षीय भावना जैसी, २ वर्षीय दिपेन जैसी, १२ वर्षीया सरिता विक, १३ वर्षीय मदन गौतम, ८३ वर्षीय करे नेपालीको मृत्यु भएको छ । त्यसैगरी वडा नम्बर ११ गैरीकी ३५ वर्षीया शिला कामी, १३ वर्षीया सृजना कामी, ९ वर्षीया रिया कामी, ६ वर्षीया दिया कामी, ४ वर्षीया आशा कामी र १८ महिनाकी एलिसा कामीको पनि मृत्यु भएको छ ।
त्यसैगरी पूर्वी रुकुम घर भई हाल आठबिसकोट नगरपालिका वडा नम्बर १४ बस्ने कृष्ण जैसीको घरका भाडामा बस्ने पुन निर्माण कम्पनीका गाडी चालक ३० वर्षीय किस्मत पुनमगर, बर्दिया घर भई आठबिसकोट नगरपालिका १४ छेपारेमा बस्दै आएका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विकको पनि भूकम्पमा परी मृत्यु भएको छ । त्यसैगरी रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ परियार टोल बस्ने महाबिर दमाईकी छोरी १२ वर्षीया मनिषा परियार, वडा नम्बर १ चाइनाबगरकी ३१ वर्षीय धनबिर पुन, २८ वर्षीया चुम्निामा पुन, ८ वर्षीय यमराज पुन, २ वर्षीय सितम पुन र १० महिने बालक रेजन वलीको पनि मृत्यु भएको छ ।
त्यसैगरी सानीभेरी गाउँपालिका वडा नम्बर ४ बस्ने आठ वर्षीय निर्जल चन्द, २५ वर्षीय सकुन्तला दमाई र ६ वर्षीय कृष्ण परियारको पनि भूकम्पमा परी मृत्यु भएको छ । त्यसैगरी सानीभेरी गाउँपालिकामा २८ र आठबिसकोटमा २५ जना घाइते भएको बताईएको छ । त्यसैगरी शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका केन्द्र बिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पका कारण बैतडीमा एक घर भत्किएको छ । भूकम्पका कारण बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर १ रीम घोरडीका कर्णबहादुर कार्कीको घर भत्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
घर भत्किँदा कार्की सहित उनकी श्रीमति ४५ वर्षीया नारु कार्की र ९ वर्षीया छोरी भावना कार्की समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी गराए ।
भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो । भूकम्पबाट जाजरकोट, पश्चिम रुकुम सहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । भूकम्पले घरहरुमा क्षति पुगेको जाजरकोटका डिएसपी सन्तोस रोकाले बताए । उनका अनुसार खलंगामा भएका पुरानो घरहरू भत्किएको र मानिसको उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली लागिरहेको छ ।



