भदौ २५ धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर–८ धनगढी गाउँमा करोडौको लगानीमा निर्माण गरिएको सभाहल प्रयोगविहीन बनेको छ । २८ करोड ५५ लाखको लागतमा निर्माण सम्पन्न भएको सभागृह सञ्चालन कार्यविधि तथा मापदण्डको अभावमा एक वर्षदेखि प्रयोगविहीन बनेको हो । सभागृह सञ्चालन गर्ने कार्यविधि तथा मापदण्ड बन्न नसक्दा संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीले सभाहल हस्तान्तरण गर्न सकेको छैन ।
धनगढी उपमहानगरपालिकाका सहरी विकास तथा प्राविधिक शाखा प्रमुख द्विजराज भट्टले धनगढी उपमहानगरपालिकाले स्वामित्व लिएर सञ्चालन गर्नेगरी निर्माण गरिएको सभागृहमा फर्निचर र साउण्ड सिस्टम जडान नगर्दा स्वामित्व लिन नसकिएको बताए । डेढ बिघा जमिनमा २८ करोड ५५ लाखको लगानीमा निर्माण गरिएको सभागृह निर्माण, रङरोगन र विद्युत् जडान लगायतका सम्पूर्ण काम २०७९ असारमा सम्पन्न भई निर्माण कम्पनीले संघीय आयोजना कार्यान्वयन इकाइलाई हस्तान्तरण गरिसकेको बताईएको छ ।
निर्माण कार्य सम्पन्न भएपछि हस्तान्तरणको तयारी समेत गरेको अवस्थामा धनगढी उपमहानगरपालिकाले बुझ्न नमानेपछि हस्तान्तरणमा ढिलाइ भएको आयोजना कार्यालयका सूचना अधिकारी इञ्जिनियर सौरभ कलौनीले बताए । मन्त्रालयले सञ्चालन कार्यविधि तथा मापदण्ड बनाइरहेकाले फर्निचर र साउण्ड सिस्टमका लागि अर्को ठेक्का गर्नुपर्ने उनले बताए । सभागृहमा नौ सय जना क्षमताको मुख्य अडिटोरियम, दुई सय जना क्षमताको सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई वटा रिहल्सलन कक्ष रहेका छन् ।
करिब चार सय गाडी अटाउने अन्डरग्राउण्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको छ । सभागृहमा फर्निचर र साउण्ड सिस्टम जडान गर्न चालु आर्थक वर्षमा २५ लाख बजेट विनियोजन गरिएको सूचना अधिकारी कलौनीले जानकारी गराए । निर्माण कम्पनीसँग २०७५ माघ २ गते ३० महिनामा निर्माण सम्पन्न हुने गरी सभागृह निर्माणको ठेक्का सम्झौता भएको थियो । कोभिड– १९ का कारण काममा बाधा उत्पन्न भए पनि एक वर्ष म्याद थप गरी २०७९ जेठमा निर्माण कार्य सम्पन्न भई सकेको छ ।


