भदौ ०४ नवल परासी । नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोतीमा नेपालमै पहिलो पटक नेपाल सर्प महोत्सव आयोजना गरिएको छ । नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ दुई दिने नेपाल सर्प महोत्सव सञ्चालन गरिएको हो । नेपाल टक्सिनोलोजी संघको आयोजना तथा जिल्ला डिभिजन वन कार्यालय नवलपुर, स्वास्थ्य कार्यालय नवलपुर, नेपाल रेडक्रस सोसाइटी र मध्यविन्दु बहुमुखी क्याम्पसको सह आयोजनामा नेपालर्मै पहिलोपटक सर्प महोत्सव सञ्चालन गरिएको सर्प संरक्षणकर्मी कमल देवकोटाले बताए ।
“सर्पका बारेमा जनमानसमा धेरै किसिमका भ्रम रहेको र कतिपय अवस्थामा सर्प र सर्पको टोकाइबारेमा सामान्य ज्ञान पनि नहुँदा धेरैले ज्यान गुमाउनुपरेकाले यसबारे जानकारी दिन महोत्सव आयोजना गरिएको उनले बताए । महोत्सवमा सर्प, सर्पदंश र सर्प संरक्षणका बारेमा जानकारी दिने विभिन्न स्टल राखिएका छन । नेपालमा कति प्रकारका सर्प छन्, कति विषालु हुन्छन् भनेर छुट्टाउने र सर्पले टोकिहालेमा के गर्ने, के नगर्ने भन्नेबारेमा पनि जानकारी दिइने उनले बताए । विशेषगरी गर्मीयाममा तराई भेगमा सर्पदंशका बिरामी बढ्ने र समयमा उपचार नपाउँदा मृत्यु हुने गरेको छ ।
“सर्पले पनि पृथ्वीमा मानिसको जत्तिकै महत्व बोकेको हुन्छ, किन भने सर्प पनि पारिस्थितिक पद्धतिको एउटा अङग हो”, उनले भने, । आफू पनि बचौँ र प्रकृतिलाई जोगाऔँ भन्ने हेतुले जनचेतना जगाउन नेपाल सर्प महोत्सवको आयोजना गरिएको उनले बताए । महोत्सवमा सर्प पहिचान कसरी गर्ने, सर्पबाट कसरी बच्ने उसलाई कसरी बचाउने र टोकी हाले के गर्नै भन्नेबारेमा महोत्सवमा प्रदर्शन गरिएको छ । विभिन्न सर्पका नाम उल्लेख गरी पोस्टर र तिनका विशेषताका बारेमा स्थानीय सहभागी, विद्यार्थी लगायतलाई जानकारी गराइएको संरक्षणकर्मी देवकोटाले जानकारी दिए । सर्पले मानिसलाई टोक्ने भनेको आफ्नो बचाउका लागि गर्ने प्रतिरक्षा आक्रमण मात्रै हो ।
नेपालका विषालु सर्प इलापिडी, भाइपिरिडी र कोलुब्रिडी परिवार अन्तर्गत पर्ने स्नेक बाइट म्यानेजमेन्टका फोकलपर्सन डा छविलाल थापाले बताउनु भयो । इलापिडी परिवार अन्तर्गत पनि धेरै विषालु सर्पजस्तै, गोमन, करेत र कोरल सर्प पर्छन उनले भन । २० प्रतिशत सर्पमा मात्र विष हुन्छ, ८० प्रतिशत सर्प विषरहित हुन्छन्, सर्पले टोक्दैमा आत्तिनु हुँदैन । समयमा उपचार नपाएका कारण सर्पको टोकाइबाट मृत्यु हुने तथ्याङक पनि बढ्दो रहेको छ । सर्पका बारेमा जनमानसमा धेरै किसिमका भ्रम रहेको र कतिपय अवस्थामा सर्प र सर्पको टोकाइबारेमा सामान्य ज्ञान पनि नहुँदा धेरैले ज्यान गुमाउनुपरेकाले यसबारे जानकारी दिन महोत्सव आयोजना गरिएको डाः छविलाल थापाले बताए ।
नवलरपासी बर्दघाट सुस्तापूर्वमा यो वर्षमा मात्र विषालु सर्पले टोकेका १२ जना महिला र १५ जना पुरुष गरी २७ जना उपचारमा आएको तथ्याङक रहेको छ । आर्थिक वर्ष २०७९÷०८० मा जिल्लामा सामान्य सर्पले टोकेका एक सय ८५ पुरुष र एक सय ७७ महिला गरी तीन सय ७२ संख्या रहेको छ । पहिला गाउँघरमा देखिने सर्प पहिचान गर्न गाह्रो हुने गरेको भए पनि सर्प महोत्सव अवलोक गरेपछि चिन्न सक्ने भएको महोत्सवमा सहभागी विद्यार्थी मुकेश रानाले बताए । “पहिला मैले रङ हेरेर मात्रै सर्प पहिचान गर्थें, अहिले छाला हेरेर सर्प पहिचान गर्नसक्ने भएको छु”उनले भने । सर्पले डस्दा के गर्ने, सर्पको व्यवस्थापन कसरी गर्ने भन्नेबारे पनि ज्ञान हासिल गरिसकेको उनले बताए ।


