बैशाख २४ धनगढी । कैलालीमा लागुऔषध ब्राउन सुगरको तस्करी गर्ने प्रहरी हवल्दारलाई प्रहरीले पक्राउ गरेको छ । शनिवार कैलालीको टीकापुर नगरपालिकास्थित खक्रौला नाकाबाट लागुऔषधको ओसार पसार तथा कारोबारमा संलग्न सशस्त्र प्रहरीका हवल्दारलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय टीकापुरले भारतीय बजार तीकुनियाँबाट टीकापुर आउँदै गरेका सशस्त्र प्रहरीका हवल्दार ३३ वर्षीय प्रेमसिंह सुनार सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जानकारी गराएको हो । लम्कीचुहा नगरपालिका वडा नम्बर २ मोतीपुरका बासिन्दा सुनारसँगै लम्कीकै २६ वर्षीय सागर घिमिरेलाई पनि प्ररीले पक्राउ गरेको जनाएको छ । खक्रौला नाकाबाट दिउँसो पक्राउ गसरिएका सुनार सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्भ गण हेडक्वार्टर बनबेहडामा कार्यरत भएको समेत जानकारी गराईएको छ ।
वैशाख १४ गते देखि लागू हुने गरी १५ दिनको बिदामा घर आएका सशस्त्र प्रहरी बलको आइडी नम्बर ४३७३० रहेका सुनारलाई लागुऔषध सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी उद्धवसिंह भाटले जानकारी गराए ।
उनका अनुसार सुनारले ९१० मिलिग्राम र घिमिरेले २ ग्राम १७० मिलिग्राम खैरो हिरोइन मलद्वारमा लुकाईछिपाई ल्याउँदै गर्दा पक्राउ गरिएको हो । अहिले उनीहरूमाथि थप अनुसन्धान भइरहेको डिएसपी भाटले जानकारी गराए । यसअघि पनि कैलालीकै भजनीबाट नेपाल प्रहरीका जवानलाई सशस्त्र प्रहरीले ३० ग्राम लागुऔषध सहित पक्राउ गरेको थियो।


