चैत्र ११ कपीलबस्तु । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले केन्द्रीय राजनीतिक तथा वैचारिक स्कुलिङ कार्यक्रमको उद्घाटन गरेका छन् । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा शुक्रबार दिउसो एक कार्यक्रमका विच महासचिव विप्लवले स्कुलिङ कार्यक्रमको उद्घाटन गरेका हुन् ।
स्कुलिङको उद्घाटन गर्दै महासचिव विप्लवले माक्र्सवाद, लेनिनवाद र माओवादले संश्लेषण गरेको ज्ञानलाई र विश्वमा विकास भएको ज्ञानलाई एकीकृत गर्न स्कुल खोलिएको बताए । ‘मालेमावादले संश्लेषण गरेको ज्ञान र अहिलेको विकसित विश्वलाई एकीकृत गर्न नयाँ संश्लेषण गरेको उनले बताए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै महासचिव विप्लवले भने, ‘हामी समाजवादी क्रान्ति, साम्यवादी क्रान्ति गर्न चाहन्छौं । यो क्रान्ति पूरा गर्न हामीलाई मालेमावाद पनि चाहिन्छ, विश्वमा देखिएको परिवर्तन पनि चाहिन्छ । हामीले विकास गरेको एकीकृत जनक्रान्तिलाई एकरुपता दिन स्कुलिङ सुरु गरिएको हो ।’
कम्युनिस्ट स्कुलको अभावमा सोभियत संघ ढलेको दृष्टान्त दिदै उनले समस्याहरुको हल गर्ने माध्यम स्कुल भएको बताए । ‘हामी कम्युनिस्ट हौं तर कमजोर जस्तो देखिएका छौँ । विश्वमा पुँजीवाद हाबी भएको जस्तो देखिन्छ । नेपालमा हामी कम्युनिस्ट छौं, कम्युनिस्ट कै सरकार छ । तर यहाँ दलाल पुँजीवाद हाबी छ ।’, उनले भने, ‘हामी क्रान्ति चाहिरहेका छौँ तर क्रान्ति माओ, लेनिलले गरेको जस्तो होइन । फरक हो भनेर देखाउन, बुझाउन आवश्यक ठानेर स्कुल संचालन गरेका हौं । यसलाई देशभरी विस्तार गर्नपर्ने योजना छ ।’

सामान्तवादको गर्भबाट पुँजीवाद र साम्यवादीहरुको जन्म भएको भन्दै अमेरिकाले तिनै पुँजीवादीहरुलाई पुँजीवाद पढाएर नेपालमा पठाएको जिकिर गरे । ‘अमेरिकाले पुँजीवादी विद्यालय खडा गरेर, पुँजीवादका विद्यार्थी उत्पादन गर्दै नेपालमा पठाएको छ । त्यसकै जडमा केहीले धार्मिक स्कुलहरु चलाएका छन् ।’, उनले भने, ‘उनीहरुले कम्युनिस्टसँग कसरी लड्ने भनेर सिकाएका छन् । धर्ममा विज्ञान र प्रविधि मिसाएर प्रचार गरिरहेका छन् । यसलाई सच्चा कम्युनिस्टहरुले चिर्न पर्छ । त्यसका लागि केन्दीय स्कुलिङको स्थापना गरिएको हो ।’
महासचिवले संशोधनवादीहरुको पनि स्कुल भएको बताए । तर पुँजीवादी र धर्मवादीहरुको स्कुल भन्दा संशोधनवादी स्कुल कमजोर भएको उनको भनाई थियो । केही व्यक्तिहरु नयाँ विचारबाट त्रसित भएको भन्दै नयाँ विचारबाट तर्सिनेहरु राम्रोसँग पुरानो ज्ञान नभएकाहरु भएको समेत प्रष्ट पारे । ‘दलाल पुँजीवादले नयाँ विचार लिएर आएको छ, नयाँ प्रविधि लिएर आएको छ । पुँजीवाद पहिलाका राजाहरु जस्तो छैन ।’, उनले भने, ‘उनीहरु नयाँ तरिकाले आउँदा हामी पुरानो तरिकाले गएर हुँदैन । हामीले पनि नयाँ तरिकाबाट लड्न पर्छ । हामी पुरानो तरिकाले लड्यौं भने परिजित हुने निश्चित छ ।’
नेकपाका स्थायी समिति सदस्य तथा केन्द्रीय स्कुल तथा अनुसन्धान विभागका इन्चार्ज भरत सीले नयाँ स्कुल एकीकृत जनक्रान्तिको स्कुल भएको बताए । यसलाई अर्को अर्थमा विप्लव स्कुल भन्दा पनि फरक नपर्ने उनको जिकिर थियो ।
‘पुरानो कम्युनिस्ट आन्दोलनलाई सोच्ने, पढ्नेमात्र गरियो भने सिद्धिने हो । जसले नयाँ विचार दियो, नयाँ आधारमा सुरु गर्यो त्यो टिक्न सक्छ ।’, उद्घाघाटन सत्रमा प्रशिक्षण मन्तब्य राख्दै भरत सीले भने, ‘नयाँ कम्युनिस्ट स्कुलमा असल कम्युनिस्ट बन्न आफूलाई निरन्तर रुपान्तरण र विकास गर्न पर्यो । नयाँ क्रान्ति पुरा गर्न, अधुरो क्रान्ति पूरा गर्न हामीले नयाँ कोर्षको विकास गरेका छौं । मालेमावादलाई पनि थप विकास गरेका छौँ । एकीकृत जनक्रान्तिको नयाँ स्कुलमा ति कुराहरु पढाई हुन्छन् ।’
नेकपा माओवादी केन्द्रले विचारको महत्व बल्ल बुझेको व्ब्याङ्ग्यात्मक टिप्पणी गरे । ‘विचार विहिन भएको माकेले पनि स्कुलिङ गर्यो रे ।’, उनले भने, ‘हामीले यता तयारी गरेपछि उनीहरुले स्कुलिङको नाटक गरे । कस्तो हुन्छ होला उनीहरुको स्कुलिङ ? योजना त अर्काको चोर्छन‘।’
नेकपा पोलिटव्ब्युरो सदस्य तथा स्कुलिङ विभाग प्रमुख धुब्र सीको अध्यक्षतामा सुरु भएको उद्घाटन सत्रमा नेकपा केन्द्रीय सदस्य तिर्थ सीले उपस्थित सबैलाई स्वागत मन्तब्यबाट स्वागत गरेका थिए भने कार्यक्रमको संचालन प्रयास सीले गरेका थिए । स्कुलिङमा तीन वटा विषयहरु राखिएको कार्यक्रममा स्कुलिङ विभाग प्रमुख ध्रुब सीले जानकारी दिए । दर्शन शास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद गरि तीन विषयमा स्कुलिङ केन्द्रीत रहने उनको भनाई थियो । स्कुलिङमा भरत सी, ध्रुब सी, तिर्थ सी र प्रयास सीले कक्षा संचालन गर्ने बताइएको छ ।



