फागुन ३० काठमाडौं । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले बुधबार देखि लागू हुने गरी ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले चैतमा कर्जा र निक्षेपकोे ब्याजदर घटाउने निर्णय गरेको थियो । बैंक तथा वित्तीय संस्थाले मंगलबार सूचना जारी गरी यो कुराको जानकारी दिएका हुन् । चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलब चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उनले संघ ऋणको ब्याजदर घटाउनमा केन्द्रित भएको बताए । हाल बैंकहरुले कर्जामा आधारदरमा छ प्रतिशतसम्म प्रिमियम लिने गरेका थिए । अब एक प्रतिशत घटेपछि आधार दरमा पाँच प्रतिशतसम्म प्रिमियम दर तोक्नेछन् ।
त्यस्तै, निक्षेपतर्फको साधारण बचतमा न्यूनतम छ प्रतिशत देखि अधिकतम आठ प्रतिशत सम्म ब्याज दिनेछन् । यसअघि साधारण बचतमा न्यूनतम छ दशमलब ४२ प्रतिशत देखि अधिकतम आठ दशमलब ४२ प्रतिशत सम्म ब्याजदर तोकिएको थियो । मुद्दती निक्षेपको ब्याजदर भने स्थिर राखिएको छ । हाल बैंकहरुले मुद्दती निक्षेपमा ११ प्रतिशत ब्याज दिइरहेका छन् । त्यस्तैगरी, संस्थागततर्फ नौ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १२ प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै, विकास बैंकहरुको छाता संगठनका रुपमा रहेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशत सम्म घटाएको छ ।
संघको निर्णय अनुसार विकास बैंकहरुले चैत महिना देखि एकवर्षे वा सोभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ६० प्रतिशत कायम गरेको छ । त्यस्तै, एक वर्षभन्दा कमको मुद्दती निक्षेपको ब्याजदर ११ दशमलव ५० प्रतिशत कायम भएको छ । हाल विकास बैंकहरुले एकवर्षे वा सोभन्दा बढी दुवैको व्यक्तिगत मुद्दती निक्षेपमा ११ दशमलव ७५ प्रतिशत ब्याजदर दिँदै आएका थिए । त्यसैगरी, ब्याजदर घटाएसँगै विकास बैंकहरुले चैतमा एकवर्षे वा सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपमा नौ दशमलव ६० प्रतिशत र साधारण बचतमा न्यूनतम छ दशमलव ६० प्रतिशत देखि आठ दशमलव ६० प्रतिशत ब्याजदर प्रदान गर्नेछन् ।
त्यसैगरी, नेपाल वित्तीय संस्था संघ (फाइनान्स) ले मुद्दती निक्षेपको ब्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ । संघले तीन महिनामाथिको निक्षेपको ब्याज दर शून्य दशमलव १५ प्रतिशत घटाउने निर्णय गरेको छ । फाइनान्स कम्पनीहरुले एक वर्षको मुद्दती निक्षेपमा १२ दशमलव १० प्रतिशत ब्याज दिँदै आएकामा चैत १ गतेदेखि ११ दशमलव ९० प्रतिशत ब्याजदर कायम गरेका छन् । – रासस


