मंसिर २१ धनगढी । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर–६ कुमारीबागमा भिनाजु नाता पर्ने ५० वर्षीय गौरीलाल ढुंगानाले हँसिया प्रहार गरी सालाको हत्या गरेका छन भने एक जना घाइते छन् । हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको उपचारका लागि टिकापुर अस्पताल लैजादै गर्दा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीका अनुसार भिनाजुले हँसियाले हान्दा घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पुगाइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेका थिए । हँसिया प्रहारबाट गम्भीर घाइते भएर टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।
उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ । मदिरा सेवनपछि भण्डारीको सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुंगानासँग तपाईंले दिदीलाई दुःख दिनुहुन्छ, भन्दै विवाद भएको देखिएको डिएसपी जोशीले बताए । ती दुई जनाबीच यसअघि पनि मुद्दा, मामिला परेको देखिएको बताउदै जोशीले झगडाले उग्र रुप लिएपछि भिनाजुले हसिया प्रहार गरेको खुल्न आएको बताउनु भयो । साला पर्ने दुवै जनालाई हँसिया प्रहार गरी फरार भएका ढुंगानाको खोजी भइरहेको डिएसपी जोशीले जानकारी गराए ।