मंसिर २१ कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकामा पशुचौपाया खाडलमा गाडेको अवस्थामा भेटिए पछि स्थानीयबासिन्दाले विरोधमा प्रदर्शन गरेका छन् । छाडा चौपाया व्यवस्थापनको माग गर्दै महिलाहरु आन्दोलित भएका बेला मंगलबार बेदकोट नगरपालीका वडा नम्बर–३ को चोरपानीमा पशुचौपाया गाडिएको पाइए पछि बुधबार फेरि स्थानीय बासिन्दाले नगरपालिका कार्यालय घेराउ गरेका छन् ।
मेयर भोजराज बोहरा सहितका जनप्रतिनिधिविरुद्ध नाराबाजी गर्दै स्थानीयबासिन्दाले नगरपालिका कार्यालय घेराउ गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले स्थानीय छाडा पशुचौपाया सहित नगरपालिका कार्यालय घेराउ गरेको बताए । बिहान तनाव सिर्जना भए पनि अहिले अवस्था शान्त रहेको प्रहरीले जनाएको छ ।
वेदकोटमा तीन दिनदेखि छाडा पशुचौपाया व्यवस्थापनको माग गर्दै स्थानीय महिलाहरुले नगरपालिकाविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरु पशुचौपायाले अन्नबाली खाएर हैरान बनाएको भन्दै उचित व्यवस्थापनको माग गरेका छन् । आन्दोलनपछि नगरपालिकाले सोमबार राति पशुचौपायालाई ट्रकमा हालेर वडा नम्बर ६ को मुसेपानीमा स्थापना गरेको गौशालामा लगेको थियो ।
तर मंगलबार भने ती पशुचौपाया गौशालाबाट अज्ञात समूहले निकालिदिएको नगरपालिकाको दाबी छ । मेयर बोहराले मृत भेटिएका चौपायाका विषयमा जानकारी नभएको बताए पनि स्थानीयबासिन्दाले भने नगरपालिकाले मारेर गाडेको आरोप लगाएका छन् ।