मंसिर ०४ कास्की । कास्कीको पोखरा १४ स्थित नयाँ बस्ती नमूना बस्तीले मंसिर ४ को संसदीय निर्वाचन पूर्ण रुपमा बहिष्कार गरेको छ । १० वर्ष पहिले पार्टीकै योजनामा राखिएको विप्लव बस्ती भनेर चिनिएको नयाँ बस्तीले मंसिर ४ को संसदीय निर्वाचन पूर्ण रुपमा बहिष्कार गरेको हो । १२० भन्दा बढी घरधुरी रहेको उक्त बस्तीमा ४ सय जनसंख्या रहेको छ भने १५० भन्दा बढीको मताधिकार रहेको टोलविकास संस्थाका अध्यक्ष विकास सुनारले जानकारी गराए ।
हाल नेपाल कम्युनिस्ट पार्टीले निर्वाचनलाई खारेज गर्ने नीति लिएपछि आफुहरु भोट हाल्न नगएको स्थानीय युवा कालु पुनले बताए । पार्टीले निर्वाचनको दिन टोल सरसफाइ र समाज भवनमा रङ्ग लगाउने कार्यक्रम राखेकोले बस्तीका सबै जनसमुदायहरु पार्टीसँगै जनश्रममा सहभागी भएको पुनले बताए । निर्वाचन खारेजी अभियानमा रहेको नेकपा कास्कीले सृजनशिलता अपनाउदै निर्वाचन बहिष्कार गरेको उनले बताए ।

सयौं जनसमुदायको सहभागितामा निर्वाचनको बेवास्ता गर्दै नेकपा कास्की जनश्रममा जुटेपछि स्थानीय युवा र जनसमुदाय उत्साहित भएको उनले जानकारी गराए । नो भोट, संसदीय चुनाव खारेज गरौं, दलाललाई मत नहालौँ लगाएतको नारा लेखिएको कालो झण्डा ओडेका नेता कार्यकर्ता र जनताको टिमको नेतुत्व जिल्ला सेक्रेटरी काजी सीले गरेको कार्यक्रममा जिल्ला नेताहरु परिवर्तन सी, सोममाया सी, प्रकाश सी, युवराज सी, महेन्द्र सी लगाएतका युवाहरुको सहभागिता रहेको उनले जानकारी गराए ।


