कार्तिक ०३ धनगढी । धनगढी उप महानगरपालिका वडा नम्बर– ५ जाइँका सोहन कैनीले वद्युतीय मोटरसाइकल निर्माण गरे पछि उनको घरमा खुसी छाएको छ । उनले बनाएको विद्युतिय मोटरसाईकल हेर्न उनको घरमा भीड लाग्ने गरे पछि सोहनको क्षमता देखेर उनको परिवारमा खुसी छाएको हो । ऐश्वर्य विद्या निकेतन धनगढीमा कक्षा ११ मा अध्ययनरत कैनीले विद्युतीय मोटरसाइकल निार्माण गरेको खबर फैलिए पछि उनको घरमा मोटरसाइकल अवलोकन गर्नेको भीड लाग्ने गरेको हो ।
नयाँ आकार र प्रकारको मोटरसाइकल निर्माण गरे पछि सोहनकी आमा बसन्तीलाई मोटरसाइकल अवलोकन गर्न आउनेलाई स्वागत गर्न भ्याइ नभ्याइ भएको छ । व्यवस्थापन विषयमा अध्ययनरत १६ वर्षीय कैर्नी घरमा पुग्नेलाई आफ्नो प्रतिभाबारेमा जानकारी दिन निकै व्यस्त छन । सोहनको प्रतिभालाई अनाँैठो मान्दै त्यहाँ पुग्नेहरुले प्रशंसा गरिरहँदा आमा बसन्ती खुसीले गदगद हुन्छिन । उनले छोराले गरेको कामलाई मान्छेले अनाँैंठो मान्दै स्यावासी दिँदा आफूलाई गौरवको अनुभूति भइरहेको बताइन ।
सानो कक्षामा पढ्दा उनले घरमै पनि विद्युत् आपूर्ति बन्द भएको बेला पनि ब्याट्री र तारको प्रयोग गरेर बिजुली बत्तीको उज्यालो बनाउने र धातुका टुक्रा जम्मा गरेर कहिले खेलौना आकारको गाडी बनाउने गरेको उनले बताईन । सोहनले एसइई परीक्षा दिइसकेपछिको खाली समयमा ग्यारेजमा मोटर मर्मत सम्बन्धी काम सिकेको बताउदै उनले आफै घरमा नेट इन्टरनेटको प्रयोगबाट अहिले यो विद्युतीय मोटरसाइकल निर्माण गर्न सफल भएको बताइन ।
कमजोर आर्थिक अवस्थाका कारण विद्युतीय मोटरसाइकल बनाउन चाहिने पाटपूर्जा र अन्य सामग्री जुटाउन सोहनलाई आर्थिक समस्या भए पछि मोटरसाइकल निर्माणका लागि आमा बसन्तीले ऋण खोजेर भए पनि छोराको योजना सफल बनाएको बताईन । महिला समूहबाट एक लाख ५० हजार ऋण निकालेर छोरा सोहनको योजनालाई साथ दिएको बताउदै उनले घरमा पैसाको अभाव हुँदा वडा सदस्य माया ताम्राकारको सहयोगमा महिला समूहबाट ऋण निकालेर छोराको कामलाई सघाउन सकेको बताईन ।
मोटरसाइकल आविष्कारमा सफलता पाएपछि वडा कार्यालयले रु ५० हजारको सहयोग गर्ने बचन दिएको उनले बताईन ।
सोहनकी बज्यै गौरीदेवी ताम्राकारले मोटरसाइकल आविष्कार गर्न नाति सफल हुँदा आफ्नो जीवनमा सबैभन्दा खुसी भएको बताईन । त्यसैरी जाइँ गाउँका झंकर ओडले विद्युतीय मोटरसाइकल आविष्कार गर्ने कुरा देशका लागि ठूलो उपलब्धिको विषय भएको बताए । कैनीले एक लाख पचास हजार रुपैया लागतमा दुई महिनाको समय लगाएर मोटरसाइकल तयार गरेका हुन । उनले पेट्रोलबाट चल्ने मोटरसाइलमा पर्ने मूल्यसँग प्रतिस्पर्धा गर्नसक्ने गरी यसलाई अझैँ स्तरीय बनाउन सकेमा देशकै लागि ठूलो उपलब्धि हुन सक्ने भएकाले उनलाई सबैले सहयोग गर्न आवश्यक छ ।
आफूले पहिलो पटक मोटरसाइकल चलाउन सिक्दै गर्दा आफै मोटरसाइकल बनाउनु पर्छ र अरुले बनाएको मोटरसाइकल किन चलाउने भन्ने सोच आएको बताउदै कैनीले अहिले बजारमा पाउँने मोटरसाइकलमा सेल्फ स्टार्ट प्रबिधीका रहे पनि कैनीले बनाएको मोटरसाइकलमा फिङगर प्रिन्ट प्रयोग गरेर चाबी अन गर्दा स्टार्ट हुने बताए । मोटरसाइकल चलाउन फिङगर प्रिन्ट र चाबी दुवै आवश्यक पर्ने बताउदै उनले मोटरसाइकलका लागि सोरुममा पाउने पाग्रा लगायतका पाटपूर्जा र विद्युतीय तार प्रयोग गरिएको जानकारी गराए ।
मोटरसाइकलमा एक देखि एक सय २७ फिङगर प्रिन्ट एड गर्न सकिने बताउदै उनले १२ भोल्टेजका चार बटा ब्याट्री जडान गरिएको र जसका कारण एक पटक ब्याट्री रिचार्ज गर्दा ५५ किलोमिटर प्रति घण्टाको गतिमा गुड्न सक्ने जानकारी गराए । एकपटक ब्याट्री रिचार्ज गर्दा ६० देखि ६५ किलोमिटरको दूरीसम्म चल्न सक्ने जानकारी गराउदै उनले सहयोग पाएमा आगामी दिनमा अपाङगता भएका व्यक्तिले प्रयोग गर्न मिल्ने ह्वील चियर बनाउने सोच बनाएको जानकारी गराउदै देशमा उपलब्ध हुन नसकेको साधन बनाउने प्रयासमा रहेको बताए ।
दुई दिन अघि धनगढी उप महानगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख गोपाल हमालले मोटरसाइकल आविष्कार गर्ने कैनीलाई बधाइँ दिँदै आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । पेट्रोलियम पदार्थको मूल्य महिनै पच्छिे बढ्दै गएको बेला यसको खपत घटाउन र विद्युत्को उपयोग बढाउन कनीले गरेको आविष्कारको सबैतिर प्रशंसा भइरहेको छ र उनलाई सबैको सहयोगको आवश्यकता भएकाले सहयोग गर्न जरुरी छ ।


