अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्ट प्रेममा रहेको कुरा अब नौलो रहेन । उनीहरु दुवैले आफ्नो रिलेसनसिपको बारेमा खुलेर बोल्न थालिसकेका छन् । फिल्म ‘ब्रह्मास्त्र’ मा एकसाथ काम गर्ने क्रममा उनीहरु प्रेममा डुबेका थिए । आलियाले हालै एक अन्तर्वार्तामा रणवीरसँग आफूलाई कम्फर्टेबल महशुस हुने र यही कारण लामो समयदेखि आफूहरु साथ रहेको बताएकी छन् ।
उनले भनेकी छन्, ‘म कसैको प्रेममा छैन भनेर मलाई झुट बोल्नु छैन । म रिलेसनसिपमा छु र म रणबीरको साथमा खुसी छु । म उसलाई गहिरो प्रेम गर्छु । म सम्बन्धमा विश्वास गर्छु । यो समयमा म निकै प्रेमिल युवती हुँ । मतलब म थोरै रोमान्टिक भएको छु । प्रेम गरेपछि किन डराउनु र म रणवीरलाई प्रेम गर्छु र ऊसँग मलाई कम्फर्टेबल महशुस हुन्छ । यही कारण हामी साथमा छौं ।’
चार वर्षदेखि प्रेममा रहेका रणबीर र आलिया दुवैको एक अर्काको परिवारसँग पनि राम्रो सम्बन्ध छ । रणबीरकी आमा नीतू कपूर र दिदी रिद्धिमा कपूर साहनी, आलियालाई निकै मन पराउँछन् । रणबीरको पनि प्रायः आलियाकी बहिनी शाहीन भट्ट र आमा सोनी राजदानसँग भेटघाट भइरहेको छ । लामो समयदेखि उनीहरु विवाह बन्धनमा बाँधिने तयारीमा रहेको चर्चा पनि चलिरहेको छ ।


