पौष ११ बैतडी । जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर–२ का दीपक साउदको परिवारको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल सहितको टोली उनको घरमा पुगेको छ । पारिवारिक अवस्थाबारे जानकारी लिन प्रमुख जिल्ला अधिकारी पौडेल सहितको टोली जेनजी आन्दोलनमा ज्यान गुमाएका साउदको घरमा पुगेको हो ।
प्रमुख जिल्ला अधिकारी पौडेलले सहिद परिवारको अवस्थाबारे जानकारी लिन उनको घरमापुगेको जानकारी गराएका हुन । घरमा पुगेर दीपकप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गरेको उनले बताए । परिवारलाई राज्यका तर्फबाट भेटवार्ता र सरकार भएको महसुस गराउन र सान्त्वना दिन प्रयासरत भएको उनले बताए ।
भेटवार्ताका क्रममा परिवारका कुनै सदस्यलाई रोजगारीको व्यवस्था गर्न सकिने विषयमा पनि छलफल भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए । सहिद परिवारका सदस्यलाई रोजगारसँग जोड्ने र थप सहयोग गर्न पहल गर्ने उनले बताए । चौधरी ग्रुपले रोजगारी दिने जानकारी दिएपछि प्रक्रिया अघि बढाइएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली भेट्न आएर पारिवारिक अवस्था बुझिदिँदा केही राहत महसुस भएको सहिद साउदकी आमा लक्ष्मी साउदले बताईन् । घरमै आएर अवस्था बुझेर सान्त्वना दिएको बताउदै उनले रोजगारी दिने विषयमा छलफल भएको बताईन ।
दीपकको परिवारलाई यसअघि सरकारको तर्फबाट १५ लाख र शिवनाथ गाउँपालिकाले एक लाख सहयोग गरेको थियो । बीस वर्षीय दीपकलाई जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते काठमाडौँको कालीमाटीमा गोली लागेको थियो । गोली लागेर गम्भीर घाइते उनको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारको क्रममा भदौ २७ गते मृत्यु भएको थियो । साउदले कक्षा १२ पास गरी कोरिया जानका लागि काठमाडौँमा भाषा सिकिरहेका थिए ।


