पौष १० बैतडी । धन कमाउने आशामा सुदूरपश्चिम प्रदेशबाट भारतको पिथौरागढ जाने महिला र बालबालिका मानव तस्करी, यौन शोषण तथा बलात्कारको सिकार हुने गरेको गम्भीर घटना बाहिरीएको छ ।
पछिल्लो समय पिथौरागढ पुगेका ७५ जना महिला र बालबालिकालाई मानव तस्करी तथा शोषणबाट उद्धार गरिए पछि घटना बाहिरीएको हो । महिला र बालबालिका सहित भारतमा ज्यालामजदुरी गर्न जानेको संख्या बढ्दै गएको छ ।
विद्यालय पढ्ने उमेरका बालबालिका समेत परिवारसँगै अथवा एक्लै रोजगारी खोज्दै पिथौरागढ पुग्ने गरेका छन् । बैतडीको पुर्चौडी नगरपालिकाका एक दम्पती रोजगारीको खोजीमा पिथौरागढ पुगेका बेला दुर्घटनामा परी ज्यान गुमाएका थिए । सोही घटना पछि साथमा रहेका १३ र १५ वर्षीया दुई बालिका मानव तस्करको फन्दामा परेर बलात्कार पछि बेचबिखन गरिएको पाइएको छ ।
रोजगारीको प्रलोभन देखाएर बालश्रम, यौन शोषण र बलात्कारमा परेका महिला तथा बालबालिकालाई पिथौरागढस्थित कार्ड संस्थाले उद्धार गरेपछि घटना सार्वजनिक भएको हो । संस्थाका सचिव सुरेन्द्र आर्यका अनुसार भारत सरकारको सहयोगमा सञ्चालन गरिएको ‘उज्वला’ कार्यक्रम अन्तर्गत सन् २०१६ देखि २०२४ सम्म ७५ जना नेपाली महिला तथा बालबालिकाको उद्धार, संरक्षण तथा न्यायका लागि कानुनी लडाइँ लडिएको थियो ।
कार्यक्रम बन्द भएपछि संस्थाको संरक्षणमा रहेका पीडितलाई सुरक्षित रूपमा नेपाल फर्काइएको उनले जानकारी दिए । मानव तस्करीको शिकार बनेका २७ जना नेपाली बालबालिकालाई उद्धार गरी उज्वला पुनर्वास केन्द्र पिथौरागढमा राखिएको थियो । ती बालबालिका दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्लाका हुन् । आर्यका अनुसार उद्धार गरिएका बालबालिका मध्ये १७ जनालाई बालश्रममा लगाइएको र १० जना बालिकामाथि यौन शोषण तथा बलात्कार भएको पुष्टि भएको छ ।
गरिबी, बेरोजगारी र अभिभावक विहीन अवस्था मानव तस्करीको मुख्य कारण बनेको देखिएको छ । भारत पुगेका १० देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई श्रममा लगाउने, बेचबिखन तथा यौन शोषण गरेको आरोपमा केही भारतीय नागरिकविरुद्ध अदालतमा मुद्दा दर्ता भएको कानुन सहजकर्ता तनुजा पोखरियालले बताइन् ।
मुद्दाको टुङ्गो नलाग्दा सम्म संस्थाले ती बालबालिकालाई खाने, बस्ने र पढ्ने व्यवस्था मिलाएको थियो । तर बजेट अभावका कारण मुद्दा टुङ्गिनु अघि नै बालबालिकालाई नेपाल फर्काउनुपरेको उज्वला पुनर्वास केन्द्रले जनाएको छ । दार्चुला नाका हुँदै पिथौरागढमा बेचबिखनमा परेकी कञ्चनपुरकी एक जना महिलालाई दुई वर्ष संरक्षण दिएर मुद्दा टुङ्गिए पछि नेपाल पठाइएको छ ।
भारतीय बालकल्याण समितिको सहकार्यमा पीडित बालबालिकालाई नेपाल फर्काउने विषयमा नेपाली अधिकारीहरूसँग छलफल भइरहेको बताइएको छ । मौसमी रोजगारीका लागि भारत जाने नेपाली महिला र बालबालिकाको विषय नेपाल–भारत सुरक्षा समितिको बैठकमा उठाइने बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी गराए ।
रोजगारीका लागि भारत जाने परिवारको स्थानीय सरकारसँग कुनै आधिकारिक तथ्याङ्क छैन । गाउँमा रोजगारीको अभाव हुँदा भारत नगई घर चलाउन नसकिने अवस्था रहेको सिगास गाउँपालीका वडा नम्बर–१ का लालमनि विकले बताए ।
बैतडीको पुर्चौडी नगरपालिका, सुर्नया, सिगास र डिलासैनी गाउँपालिकाबाट भारतमा ज्यालामजदुरी गर्न जानेको संख्या बढी रहेको उनले बताए । पाटन र मेलौली नगरपालिका, शिवनाथ, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकाबाट पनि उल्लेख्य संख्यामा नागरिक भारत जाने गरेका छन् ।


