पौष १० धनगढी । थारु समुदायबाट पहिलो पाइलट महिला बन्न सफल कैलालीकी टीका चौधरीलाई सम्मान गरिएको छ । विहीबार धनगढी स्थित बातचित घरले चौधरीलाई सम्मान गरेको हो ।
बातचित घरका बरघरिया ठाकुर करिया प्रधानले चौधरीलाई सम्मान पत्र सहित सम्मान गरेका हुन । धनगढी उपमहानगरपालिका वडा नम्बर–१३ कैलाली गाउँकी २१ वर्षीया चौधरीले दक्षिण अफ्रिकाबाट प्राइभेट पाइलटको लाइसेन्स प्राप्त गरेकी छिन ।
पाइलट तालिम पूरा गर्नका लागि उनले अझै एक सय घण्टाको एकल उडान गर्न भने बाँकी रहेको छ । आफूले पाइलट तालिम पूरा गर्न अझै छ महिना सम्म लाग्न सक्ने चौधरीले बताईन ।
बिदामा आएकी उनले पाइलट तालिम गाह्रो रहने गरेको बताउदै हिम्मतका साथ संघर्ष गरेर तालिम पूरा गर्ने बताईन । थारु समुदायबाट चौधरीले पाइलट बन्नु सिङ्गो समुदायका लागि गर्वको विषय भएको बातचित घरका बरघरिया करिया प्रधानले बताए ।


