पौष १० बाजुरा । बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ । सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, नेपालगञ्ज र काठमाडौँ लगायतका विभिन्न ठाउँमा मार्तडी देखि कोल्टी आउने लामो दूरीका सवारी साधान दुर्घटना हुने जोखिम बढ्दै गएको हो । ठेकेदार कम्पनीले कालोपत्रेको जिम्मा लिएको झण्डै पाँच–वर्षसम्म भए पनि मार्तडी कोल्टी सडक अझैँ कालोपत्रे हुन नसकेको स्थानीयले बताएका छन ।
सडक कालोपेत्र नहुँदा जोखिम पूर्ण यात्रा गर्नुपरेको सुदूरपश्चिम यातायातका बस चालक मदन कार्कीले बताए । सडक सञ्चालनमा आएपनि खाल्डा खुल्डीका कारण लामो दूरीका सवारी साधानलाई जोखिम बढ्दै गएको कार्कीले बताए । २०७८ सालको असारमा काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौँ र बाँनिया कोटेश्वर जे।बि प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएको कार्किले बताए ।
मार्तडी बसपार्क देखि चुथीको झण्डै नौ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एण्ड शङ्कर प्रालि काठमाडौँ र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केने देखि कोल्टी सम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जेबि प्रालि हेटौँडाले ६२ करोडमा जिम्मा लिएका थिए । मार्तडी देखि चुथी सम्मको नौ किलोमिटर सडक पीच गर्ने काम सम्पन्न भए पनि ढम्कने देखि कोल्टी सम्मको ३१ किलोमिटर सडक भने अझैँ पीच हुन सकेको छैन ।
ठेकदारको लाफरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएपछि अहिले मार्तडी देखि कोल्टीसम्म जाने यात्रुलाई हिउँद बर्खाको समय सधैँ सास्ती खेप्नु परेको छ । मार्तडी देखि कोल्टी सम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले ३५ करोड भन्दा बढी पहिलो किस्ता रकम भुक्तानी लिइसकेका छन् ।
कोल्टीमा कात्तिक देखि बस सञ्चालन भएको दुई महिनामै सुदूरपश्चिम र महाकाली गरी दुई वटा बस दुर्घटनामा परिसकेका छन् । घटनामा एक जनाको ज्यान गएको छ भने करिब १२ जना भन्दा बढी यात्रु घाइते भएका थिए । ठेकेदार कम्पनीका मालिक राजु बानीयाँले अरुलाई जिम्मा दिएको बताउदै काम नगरेकोले मार्तडी कोल्टी सडक निर्माणको काम्मा ढिलाइ भएको बताए ।


