पौष १० कञ्चनपुर । कञ्चनपुरमा सञ्चालीत जलवायु उत्थानशील कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कञ्चनपुरको लालझाडी, बेलौरी, शुक्लाफाँटा, पुनर्वास र भीमदत्त गरि पाँचवटा पालिकाका सञ्चालीत जलवायु उत्थानशील कार्यक्रम प्रभावकारी बन्दै गएको हो । ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रमको विपद् व्यवस्थापन र जोखिम न्यूनीकरणका क्षेत्रमा सकारात्मक प्रभाव देखिएको छ । कार्यक्रम जिल्लाका जोखिमयुक्त समुदायमा सञ्चालन गरिएको छ ।
बाढी तथा गर्मी (तातो हावा) को प्रभावबाट जोखिममा रहेका समुदायको उत्थानशीलता निर्माण गर्ने, पूर्व चेतावनी प्रणालीमा सुधार गर्ने र विपद्पश्चात् जीवनशैली पुनःस्थापना गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको कार्यक्रमका अधिकृत दिलबहादुर ढाँटले बताए । कार्यक्रमले जीविकोपार्जनका पाँच पुँजीहरू (आर्थिक, प्राकृतिक, भौतिक, सामाजिक र मानवीय) लाई आधार मानेर समुदायलाई सक्षम बनाउने रणनीति लिएर कार्यक्रम सञ्चालन गरेको उनले बताए ।
शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले नगरपालिकामा कार्यक्रमको केही सकारात्मक प्रभाव रहेको बताउदै ‘विपद् व्यवस्थापन, जैविक तटबन्ध निर्माण र लक्षित समुदायको आयआर्जनमा कार्यक्रमले टेवा पु¥याएको बताए । विशेष गरी जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूका लागि कार्यक्रम सहयोगीसिद्ध भएको उनले बताए । कार्यक्रमलाई अझै नगरपालिकाका सबै वडामा प्रभावकारी ढङ्गले सञ्चालन गरिनु पर्ने उनले बताए ।
कार्यक्रमले उत्थानशील प्रणालीका चार विशेषताहरू–शीघ्रता, स्रोत–साधन सम्पन्नता, दरिलोपना र अतिरिक्ततामा आधारित भई कार्य गरिरहेको कार्यक्रमका प्राविधिक जनक लेखकले बताए । जसअन्तर्गत बाढीका ५२ वटा र तातो हावाका ५० सूचकहरूका आधारमा जोखिम मापन र प्रतिकार्यका योजनाहरू बनाई कार्य गरिएको उनले बताए । सन् २०२५ मा २८ लाख ९५ हजार ४९ रुपैयाको लागतमा विभिन्न महत्वपूर्ण कार्यहरू सम्पन्न गरिएको उनले बताए ।
कार्यक्रम अन्तर्गत यसमा ४ सय ६५ मिटर जैविक तटबन्ध निर्माणमा १६ लाख ५३ हजार रुपैया र सुरक्षित आवासस्थल मर्मतमा तीन लाख ९७ हजार रुपैया खर्च गरिएको छ । त्यसैगरी, सामुदायिक विपद् व्यवस्थापन समितिको क्षमता विकास, प्राथमिक उपचार तालिम, खोज तथा उद्धार तालिम, र बगरखेती मार्फत आयआर्जनमा सहयोग पुर्याइएको छ ।
कार्यक्रम मार्फत ३ सय भन्दा बढी बासिन्दा लाभान्वित भएको बताइएको छ । कार्यक्रमले वडास्तरमा आपत्कालीन सामग्री सहयोग गर्नुका साथै विद्यालयहरूमा जलवायु सचेतना कार्यक्रम र पूर्वसूचनाका लागि जल तथा मौसम विज्ञान स्टेशनहरूसँगको समन्वयलाई समेत प्राथमिकता दिएको छ । आगामी वर्षका लागि परियोजनाले विपद् बिमा, जोखिम स्थानान्तरण र प्रकृतिमा आधारित समाधानका कार्यहरूलाई थप विस्तार गर्ने लक्ष्य राखेको बताइृएको छ ।


