पौष ०९ धनगढी । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–३ बडहरामा तीन वर्ष अगाडी सङ्घीय सरकारले निर्माण गरेको ‘होल्डिङ सेन्टर’ ्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको हो ।
निर्माण सम्पन्न भएको तीन वर्षभन्दा बढी भइसक्दा समेत स्वामित्व हस्तान्तरण नहुँदा उक्त ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन भएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले होल्डिङ सेन्टर’को स्वामित्व हस्तान्तरणको बारेमा अहिलेसम्म कुनै जानकारी नआएको बताए ।
“होल्डिङ सेन्टरको स्वामित्व तीन तहका सरकार मध्ये कसले लिने भन्ने अहिलेसम्म कुनै निर्णय नभएको जानकारी गराउदै उनले एक पटक रक्षा मन्त्रालयले स्वामित्व कसले लिने, के सञ्चालन गर्ने भनेर एउटा समिति गठन गरेको बताए । त्यसपछि स्थानीय प्रशासनलाई कुनै जानकारी नआएको उनले बताए ।
नेपाली सेनाले निर्माण गरेको होल्डिङ सेन्टर’को सञ्चालन ढाँचा के हुने भनेर रक्षा मन्त्रालयबाट आउनु पर्ने उनले बताए । अहिलेसम्म केही जानकारी नआएको बताउदै उनले होल्डिङ सेन्टरको हाल नेपाली सेनाले नै रेखदेख गरिरहेको बताए ।
एक हजार क्षमताको होल्डिङ सेन्टरमा ५९ वटा ब्लक, २० वटा क्वारेन्टिन, दुई वटा चिकित्सक कक्ष, २२ वटा शौचालय र १५ वटा भान्साकोठा निर्माण गरिएको उनले जानकारी गराए ।
सङ्घीय सरकारको २८ करोड ८१ लाख लागतमा विसं २०७८ वैशाखमा निर्माण सुरु भएको ‘होल्डिङ सेन्टर’ विसं २०७९ साउनमा निर्माण सम्पन्न भएको थियो ।


