पौष ०९ धनगढी । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको अध्यक्षका लागि काँग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीको गठबन्धन भएको छ । घोडाघोडी बहुमुखी क्याम्पसको अध्यक्षका लागि तिन ठुला पार्टीको गठबन्धन भएको हो । गठबन्धनका साझा उम्मेदवार लक्ष्मण न्युरे र स्वतन्त्र उम्मेदवार डबल शाहबीच प्रतिस्पर्धा हुने भएको छ । न्यूरे तीन दलीय गठबन्धनका साझा उम्मेदवार हुन् भने शाहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
काँग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीको गठबन्धनबाट आफू साझा उम्मेदवार रहेको न्यूरेले बताए । उनले आफ्नो प्यानलको सात जना सर्वसम्मत भएको तर अध्यक्ष र चार जना सदस्यमा शाह र अन्यले उम्मेदवारी दिएकाले निर्वाचन हुने बताए । क्याम्पस सञ्चालक समितिको निर्वाचनका लागि शनिबार उम्मेदवारहरूको मनोनयन दर्ता भएको हो ।
घोडाघोडी बहुमुखी क्याम्पसको नेतृत्व चयनका लागि तीन दल विरुद्ध स्वतन्त्र नागरिकको हैसियतले शाहले उम्मेदवारी दिएको बताएका छन् । क्याम्पस सञ्चालक समितिको नेतृत्व छनौटका लागि बिहीबार निर्वाचन हुने र मतदाताको संख्या ५ सय ७७ रहेको बताइएको छ । शाह पनि प्यानल सहित स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन ।
शाहको प्यानलबाट उपाध्यक्ष पदका लागि भानुभक्त आचार्य र न्युरे प्यानलबाट आयुष जोशी उम्मेदवार बनेका छन् । खुला सदस्य तीन पदका लागि प्रेमप्रसाद कँडेल, जनक जोशी, रमेश कुमार बस्नेत र सीता कुमारी चौधरी गरी चार जनाको उम्मेदवारी परेको छ ।
महिला सदस्य एक पदका लागि नारायणी कुमारी गौतम र राधा कुमारी पाण्डेबीच प्रतिस्पर्धा हुने छ । त्यस्तै, दलित÷जनजाति दुई पदका लागि मनोज कुमार सुनार, जगत बहादुर विश्वकर्मा र अमन चौधरी गरी तीन जनाले मनोनयन दर्ता गराएका छन् ।


