पौष ०९ बैतडी । बैतडीको पाटनस्थित नयाँ सहर आयोजनाको कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजनामा एकीकृत भएको छ । बैतडी सहित दार्चुला र बझाङ जिल्ला हेर्नेगरी उक्त आयोजना सघन सहरी तथा भवन निर्माण आयोजनामा एकीकृत भएको हो ।
सरकारले विसं २०६८ सालमा नयाँ सहर विकास आयोजना अघि बढाउने उद्देश्यले पाटनमा कार्यालय स्थापना गरेको थियो । नयाँ सहर विकाससँग सम्बन्धित काम पनि अब यही कार्यालयबाटै अघि बढाइने कार्यालयका इञ्जिनियर प्रकाशकुमार शाहले जानकारी गराए ।
त्यसैगरी सघन सहरी तथा भवन निर्माण आयोजनाको पाटन कार्यालय प्रमुखको रूपमा झङ्कबहादुर थापा नियुक्त भएका छन् । इञ्जिनियर शाहले नयाँ सहरको कार्यालय अब सघन सहरी आयोजनामा समाहित भएको बताए । नयाँ सहरसँग सम्बन्धित सबै काम यही कार्यालयबाट समन्वय गरिने उनले बताए ।
नयाँ सहरसँग सम्बन्धित महत्त्वपूर्ण काम हाल अलपत्र अवस्थामा रहेकाले कामलाई पूर्णता दिने उद्देश्यले एकिकृत गरिएको उनले बताए । “मुख्य रूपमा जग्गा एकीकरणको काम अझै सुरु हुन नसकेको बताउदै उनले निर्माण गरिएका अधिकांश संरचना प्रयोगमा नआएको जानकारी गराए ।


