पौष ०६ दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका वडा नम्बर–१ छाङरुमा सौर्य ऊर्जा मार्फत १ सय २० घरधुरीमा विद्युत सेवा उपलब्ध गराइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोग र स्थानीय उपभोक्ताको श्रमदानमा निर्माण गरिएको ५३ किलोवाट क्षमताको सौर्य मिनि ग्रिडबाट १ सय २० घरधुरी, तीन वटा व्यवसायिक फर्म तथा चार वटा सरकारी कार्यालयमा विद्युत सेवा उपलब्ध गराईएको हो ।
वडा अध्यक्ष अशोकसिंह बोहराले सौर्य मिनि ग्रिड सञ्चालनमा आएपछि स्थानीय उपभोक्ताले दैनिक केही घण्टा बाहेक नियमित रूपमा विद्युत प्रयोग गर्न पाएको जानकारी गराए । चिसो मौसमका कारण ब्याट्री रेस्टका लागि साँझ ९–१० बजेदेखि राति २ बजेसम्म विद्युत आपूर्ति बन्द गरिने गरिएको उनले जानकारी गराए । मिनि ग्रिडबाट उत्पादित विद्युत वितरणका लागि १.११३ किलोमिटर थ्री–फेज र ४३२ मिटर सिंगल–फेज प्रशारण लाइन निर्माण गरिएको उनले बताए ।
सशस्त्र प्रहरी कार्यालय बाहेक वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी लगायतका सरकारी कार्यालयमा पनि सोही ग्रिडबाट विद्युत आपूर्ति भइरहेको उनले बताए । साथै, २० वटा सडक बत्ती पनि जडान गरिएको उनले बताए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सिनियर अफिसर अमानुवल हक अन्सारीले मिनि ग्रिड निर्माणमा केन्द्रको ४ करोड १३ लाख ३३ हजार १ सय २ रुपैयाँ लगानी तथा स्थानीय उपभोक्ताको १० प्रतिशत श्रमदान रहेको बताए ।
असार महिना देखि सञ्चालनमा आएको ग्रिड उपभोक्तालाई हस्तान्तरण गर्न भने अझै बाँकी रहेको उनले बताए । यसअघि छाङरुमा लघु जलविद्युत मार्फत विद्युत सेवा पु¥याउने प्रयास भए पनि हिमपात, बाढी र पहिरोका कारण पटक–पटक क्षति पुग्दा सेवा नियमित हुन नसकेको बोहराले बताए । गरिबी निवारण कोषको ४० प्रतिशत अनुदान र उपभोक्ताको ६० प्रतिशत स्वलगानीमा निर्माण गरिएको जलविद्युत दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेको वडाध्यक्ष बोहराले जानकारी गराए ।


