पौष ०६ धनगढी । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको मोहन्यालका दर्जनौ बस्ति अहिले पनि अन्धकारमा रहेका छन । मोहन्याल गाउँपालिकाका दर्जनौँ बस्तीमा अहिले सम्म पनि राष्ट्रिय विद्युत् प्रसारण लाइन नपुगेकाले दर्जनौ बस्ति अहिले पनि अन्धकारमा रहेका हुन ।
आधारभूत विद्युत सेवा नपुग्दा स्थानीय वासीको दैनिकी कष्टकर बनेको छ । कर्णाली चिसापानीबाट करिब ६ किलोमिटरको दूरीमा रहेको मोहन्याल गाउँपालिका वडा नम्बर–७ का राजकाँडा, धुलिकोट, जुतेसुली, मालचाना, बासगैरी लगायतका बस्तीहरू अझै अन्धकारमा रहेका छन् । मुख्य राजमार्ग नजिकै रहेका यी बस्तीमा विद्युत् सेवा नपुग्नुले राज्यको विकास योजना र कार्यान्वयन प्रति स्थानीयवासीले गम्भीर प्रश्न उठाएका छन् । विद्युत् अभावका कारण सबैभन्दा बढी असर बालबालिकाको शिक्षामा परेको स्थानीय भरत खत्रीले गुनासो गरेका छन ।
साँझपख पढ्न नसक्ने अवस्था, मोबाइल चार्ज गर्न समस्या, खानेपानीका पम्प सञ्चालन गर्न नसक्नु र साना व्यवसाय चलाउन कठिनाइ हुँदा जनजीवन झन् कठिन बन्दै गएको उनले बताए । देशभर उज्यालोको चर्चा भए पनि अन्धकारमै बस्न बाध्य भएको बताउदै उनले बसाइँसराइ बढ्दै गएसँगै बस्ती विस्तार भइरहे पनि आधारभूत सेवाको पहुँच नपुग्दा स्थानीय थप समस्यामा परेको बताए । स्थानीय नागरिकले विकासको मूलधारबाट टाढिँदै गएको महसुस गरिरहेको उनले बताए । स्थानीय राजेन्द्र मुडभरीले बसोबास गरेको करिब एक सय वर्षर्को पुगिसकेको बताउँदै अन्य क्षेत्रको तुलनामा मोहन्यालमा विकास निकै पछाडि परेको बताए ।
विद्युत् कार्यालयले भने पहिलो चरणको काम सुरु भइसकेको दाबी गरेको छ । लम्की बजारबाट मोहन्यालको राजकाँडा सम्म करिब १६ किलोमिटर दूरीमा विद्युत् लाइन विस्तार गर्ने योजना अनुसार हाल ८० लाख रुपैयाँको बजेटमा ४ किलोमिटर क्षेत्रमा पोल गाड्ने काम सम्पन्न भएको लम्की विद्युत् सब–स्टेसनले जनाएको छ । लम्की विद्युत् सब–स्टेसनका प्रमुख कमल न्यौपानेले माथिल्लो क्षेत्रसम्म लाइन विस्तार गर्न थप बजेट माग भइसकेको बताए । बजेट सुनिश्चित भएपछि बाँकी क्षेत्रमा पनि काम तीव्र रूपमा अघि बढाइने उनले बताए ।
स्थानीय बासिन्दा भने वर्षौँदेखि विद्युत् आउने आशामै बस्नु परेको बताएका छन । मुख्य राजमार्गबाट केही मिनेटको दूरीमा रहेका गाउँहरू अझै पनि अन्धकारमा रहनु राज्यको योजना र कार्यान्वयन बीचको खाडलको उदाहरण भएको उनीहरूले बताएका छन । देशले उत्पादन गरेको विद्युत् विदेश निर्यात गरेर आम्दानी गर्ने चर्चा भइरहँदा आफ्नै गाउँमा बल्ब बाल्न नपाउनु विडम्बनापूर्ण भएको स्थानीयले गुनासो गरेका छन । विद्युत् विस्तारको कामलाई प्राथमिकतामा राखी छिटो सम्पन्न गर्न सम्बन्धित निकायसँग उनीहरुले माग गरेका छन् ।


