पौष ०६ धनगढी । सुदूरपश्चिम प्रदेशका तराइका जिल्लामा अत्यधिक चिसो बढे पछि जनजीवन कष्टकर बन्दै गएको छ । े बिहीबार देखि घाम नलागेर कुहिरो र हुस्सु लाग्नुकासाथै तराइका जिल्लाहरूमा चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो । महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार लगातार घाम नलागे पछि अधिकतम तापक्रममा पनि कमी आएको छ ।
कार्यालयका मौसम विज्ञान सहायक सिंघम चौधरीले शुक्रवार न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको बताए । उनले शुक्रवार अधिकतम तापक्रम पनि १३.६ डिग्री सेल्सियस मात्रै मापन गरिएको बताए । अधिकतम तापक्रम पनि बढ्न नपाउँदा चिसो महसुस भएको उनले बताए । शनिवार पनि न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस र अधिकतम तापक्रम १५.१ सेल्सियस मापन गरिएको उनले बताए ।
बिहीबार भने न्यूनतम तापक्रम १०.२ डिग्री सेल्सियस मापन गरिए पनि अधिकतम तापक्रम २१ डिग्री सेल्सियस पुगेको उनले बताए । त्यसैगरी बुधवार न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियस र अधिकतम १९.५ डिग्री सेल्सियस मापन गरिएको उनले बताए । घाम नलागेर चिसो बढेपछि जनजीवन प्रभावित हुन थालेको उनले बताए ।
बिहान र साँझको समयमा बाक्लो कुहिरोले ढाक्ने गरेको छ भने दिउँसो पनि घाम नलाग्दा चिसो बढेको हो । चिसो बढेपछि स्थानीय तहहरूले बिदा दिन थालेका छन् । चिसोमा पठन पाठन गर्न समस्या हुन थालेपछि स्थानीय तहहरूले बन्द गर्न थालेका हुन । चिसो बढेपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले विगत केही दिन यता बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै २ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले नगरपालिका क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस ६ र ७ गते बिदा दिने निर्णय गरिएको बताए ।


